नेपाल ट्रस्टको २२ हजार रोपनी जग्गा फेला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा आएको सम्पत्ति सार्वजनिक गरेको छ। ट्रस्टका सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै देशभर करिब २२ हजार रोपनी जग्गा फेला परेको जानकारी दिनुभयो।
कार्यालयले तत्कालीन राजा वीरेन्द्र र उहाँको परिवारको सदस्यहरुको नाममा नेपालको विभिन्न भागमा रहेको चलअचल सम्पत्तिको पछिल्लो विवरण सोमबार सार्वजनिक गरेको हो।
मन्त्री पोखरेलले खोजविन गर्दा फेला परेका जग्गाको विवरण २१ हजार ५ सय ६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको बताउनुभयो। ट्रस्टको सम्पूर्ण गतिविधि, चल–अचल सम्पत्तिको संरक्षण, परिचालन र व्यवस्थापन सम्बन्धमा पारदर्शी तबरले जानकारी दिने प्रयासस्वरुप विवरण सार्वजनिक गरिएको मन्त्री पोखरेलले बताउनुभयो।
मुलुकभित्रको विभिन्न १२ जिल्लामा रहेका जग्गा ट्रस्टको स्वामित्वमा आएको स्वेतपत्रमा उल्लेख छ। ०७६ पुससम्म ट्रस्टको चल सम्पत्तितर्फ नेपाली रुपियाँँ ७८ करोड ९ लाख ७७ हजार ७ सय ९९ पुगेको, अमेरिकी डलर १ लाख ४८ हजार ५ सय ८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १ सय २४ बैंकमा मौज्दात रहेको जनाएको छ।
त्यस्तै शेयरतर्फ नबिल बैंकको सेयर ५ लाख ३३ हजार २ सय ४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७ सय २० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७ साय ५० कित्ता ट्रस्टको स्वामित्वमा रहेको जनाएको छ।
यी सम्पत्तिको अधिकतम उपयोगमार्फत् आयआर्जन वृद्धि गरी शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेकाले कार्यविधि तयार गरी छिट्टै अगाडि बढ्न शुरु हुने मन्त्री पोखरेलले बताउनुभयो।
दरबारमार्र्गको लिज भाडा ः प्रस्ताव ६ अर्ब, सम्झौता १ अर्ब
दरबारमार्गको जग्गा भाडामा दिँदा शुरुमा ६ अर्बको प्रस्ताव गरे पनि पछि त्रुटि भएको भन्दै १ अर्बमा सम्झौता भएको खुलेको छ। पहिलो प्रस्तावलाई त्रुटि देखाई पछिल्लोमा झन्डै ५ अर्ब घटाएर सम्झौता गराउनेहरुमा ट्रस्टका संरक्षक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री विमलेन्द्र निधि रहेको श्वेतपत्रमा उल्लेख छ।
कमलादी, हेटौंडा, ताहाचल, सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा लिजमा दिने गरी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमले ०७१ साउन २८ गतेको ३१औं बोर्ड बैठकले वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको थियो।
त्यही आधारमा ०७३ असार १४ मा दरबारमार्गको जग्गा लिजआउट गर्न सूचना निकालेको थियो। जसमा थामसेर्कु ट्रेकिङ प्रालिसहित ६ कम्पनीले प्रस्ताव राखे। थामसेर्कुको ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रुपियाँको आर्थिक प्रस्ताव पहिलोपटक ०७३ फागुन ६ गते सचिवस्तरीय निर्णयबाट स्वीकृत भएको थियो।
त्यसपछि ४ दिनपछि फागुन १० गते थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको आशयको सूचना पत्रिकामा निस्क्यो। त्यसको ८ दिनपछि फागुन १८ गते उक्त प्रस्तावमा रकम आफ्नो कम्पनीले प्रस्ताव गरेको नभई १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपियाँ भएको धारणासहितको पत्र ट्रस्टको कार्यालयमा दर्ता ग¥यो।
उक्त पत्रउपर छानविनपछि कार्यालयको प्राविधिक त्रुटिका कारण स्वीकृत भएको उक्त मूल्य सहसचिवस्तरीय पुनर्निर्णयबाट दोस्रोपटक मिति ०७४ वैशाख ५ गते थामसेर्कुसँग १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपियाँको प्रस्ताव स्वीकृत भई सम्झौतासमेत भयो।