गणपूरक संख्या नपुग्दा संसद् बैठक स्थगित

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुग्दा बैठक नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

सरकारले संसद्मा निर्णायार्थ पेस गरेको विधेयकमाथि दफावार छलफल गर्न गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित भएको हो।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) निर्णायार्थ पेस गर्नुभएको थियो। तर, संसद्भित्र अधिकांश कुर्सी खाली थिए।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले बैठकमा गणपूरक संख्या छ कि छैन भन्ने प्रश्न उठाएपछि सभामुखले गणपूरक संख्या पु¥याउन तीन मिनेट घण्टी बजाउनुभएको थियो।

घण्टी बजेसँगै संसद् भवनबाहिर रहेका सांसदहरू बैठकमा प्रवेश गरेकाले एक चौथाइ गणपूरक संख्या पुगेपछि बैठक सुचारु भएको थियो।

नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न या प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ अर्थात ६९ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। जसमा मंगलबारको बैठकमा संख्या नपुगेकाले घण्टी बजाइएको थियो।

२ सय ७५ जना सांसद रहेको प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा ७० जना मात्र सांसद उपस्थित थिए।

संसद् सुरु हुँदै गर्दा भरिभराउ बनेको संसद् भवन विधेयकमाथि छलफल अगाडि बढ्नासाथ सांसदहरू एकपछि अर्को गर्दै बाहिर निस्किएका थिए। संसद् बैठकमा सहभागी हुने गरे पनि सांसदहरू हाजिर गरेर हिँड्ने गरेका छन्।

संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा सुरुमा १ सय ८२ जना सांसदको उपस्थिति भएपछि विधेयकमाथि छलफल भइरहँदा घटेर ५८ जनामा सीमित भएको थियो। मंगलवार तीन मिनेट घन्टी बजाउँदा पनि ६९ जना अर्थात् एक चौचाइ सांसदको संख्या नपुगेपछि सभामुख सापकोटाले बुधबार १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको थियो।

गणपूरक संख्या नपुगेकै कारण बैठक स्थगित हुनुपर्ने अवस्था सृजना भएपछि सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतहरूसँग छलफल गर्नुहुने भएको छ। राष्ट्रिय महत्वको प्रस्ताव पारित गर्ने बेला पार्टीले सांसदहरूलाई बैठकमा अनिवार्य रुपमा उपस्थिति हुन ह्वीप लगााउने गरे पनि अन्य बेलामा लगाउने गरेको छैन।

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले संसद्मा गणपूरक संख्या पु¥याउन घण्टी लगाउनु राम्रो विषय नभएको बताउनुभयो।

नेकपाका सांसदलाई पार्टीले बैठकमा सहभागी हुन ह्वीप लगाउने गरेको छ कि छैन भन्ने जिज्ञासामा गुरुङले भन्नुभयो– ‘एक-दुई दिन बिदा बस्नुपरे पार्टीको सचेतक र त्योभन्दा बढी बस्नुपरे अवस्थामा संसद् सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान छ। बैठकमा सबै सांसद बसिरहनुपर्छ भन्ने पनि छैन।’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले संसद्मा सत्तारुढ दल नेकपा गैरजिम्मेवार बनेको आरोप लगाउँदै नेपाल समचारपत्रसँग भन्नुभयो– ‘सरकारको तर्फबाट आएको विधेयक पारित गराउने सत्तारूढ दल नै जिम्मेवार हुनुपर्छ, प्रतिपक्ष संसद्मा आफ्नो पोजिसमा सधैं रहेको छ, नेकपाले संसद्लाई कमजोर बनाउन खोज्यो। गणपूरक संख्या कम भएकै कारण बैठक स्थगित हुनु सत्तारूढ दलका लागि लाजमर्दो विषय हो।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका शेरबहादुर देउवालगायतका सांसदहरू अधिकांश बैठकमा अनुपस्थित हुने गर्नुभएको छ