मोरङ कांग्रेसको छलफलमा चर्काचर्की ‘जनप्रतिनिधि सुविधाभोगी भए’

0
Shares

सरोज यादव, विराटनगर ।

पार्टीको टिकट पाएर पालिकामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेका जनप्रतिनिधिको व्यवहार दुई वर्षमै फेरिएको भन्दै टीकाटिप्पणी हुने गरेको छ। तर, नेपाली कांग्रेसबाट निर्वाचित भई पालिकाहरूमा बागडोर सम्हालिरहेका जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच विराटनगरमा घनीभूत छलफल भएको छ।

मोरङ कांग्रेसले आयोजना गरेको नेपाली कांगे्रस र जनप्रतिनिधिबीच एकदिने अन्तरसंवाद कार्यक्रममा पार्टी प्रतिनिधिले आफ्नो गुनासो खुलेर राखेका छन्। सहभागी धेरैको प्रश्न थियो– ‘के जनप्रतिनिधिहरूले अर्कै ग्रहमा चुनाव जितेको हो ?’ पार्टीबाट टिकट पाएर विजयी भएपछि पार्टीतर्फ नहेरेको, हिजो आफूलाई जिताउन लाग्नेहरूलाई वास्ता नगरेको र फेरि पार्टी नै चाहिँदैन जस्तो व्यवहार जनप्रतिनिधिबाट हुने गरेको सहभागीको गुनासो थियो।

सहभागीले कांग्रेसलाई ‘मासबेस पार्टी’ भन्ने गरिए पनि नीतिविहीन, अनुशासनको कमी र निर्देशन पालना नगर्ने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्नसमेत सुझाव दिएका छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस क्षेत्रीय सभापति दिलीप पोखरेलले हिजो टिकट दिने पार्टीलाई नै वास्ता नगर्दा जनप्रतिनिधिसंग जनता र सिंगो पार्टीपंक्तिको गुनासो चुलिएको बताउनुभयो।

‘केही जनप्रतिनिधिमा म मेरै कारणले जितेको हुँ भन्ने अहम् छ भने पार्टी नेतृत्वमा पनि एकपटक जित्नेबित्तिकै ठूलो हुने भन्ने भावना छ। यसलाई दुबै पक्षले त्याग्नुपर्छ’, उहाँले भन्नुभयो– ‘पार्टी र जनप्रतिनिधिबीच तालमेल बढाउन जरुरी छ।’ नेपाली कांग्रेस विराटनगरका सचिव प्रकाश दाहालले जनप्रतिनिधिलाई हुने गरेका बाधा र कठिनाइको विषयमा पनि पार्टीले चासो राखेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

नेपाल तरुण दल विराटनगरमा सभापति सन्तोष न्यौपानेले जनप्रतिनिधिले आफ्नो कामबाट जनता र हिजो आफूलाई त्यो स्थानमा पु¥याउने पार्टीपंक्ति तथा कार्यकर्तालाई समेत भुल्न नहुने सुझाव दिनुभयो। नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुणकुमार न्यौपानेले स्थानीय तहमा धेरैजसो जितेर जानेहरू युवा भएकोले उनीहरूले त्यहीअनुरुपको कार्यक्रम ल्याएर जनस्तरमा जानुपर्ने बताउनुभयो।