नेपालमा विद्यालयको संख्या अत्यधिक

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानीको नक्सा उल्लेख नभएका नेपाली नक्सा विद्यालयमा प्रयोग नगर्न आह्वान गर्नुभएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १३औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘राष्ट्रियताको विषय प्रमुख हो। त्यसैले, नयाँ शैक्षिक सत्रबाट नेपालको नक्सा प्रयोगमा ध्यान दिनुहोला। लिम्पियाधुरा र कालापानी उल्लेख नगरिएको नक्सा नभएका पुस्तक नपढाउनुहोला।’

उहाँले नेपालमा विद्यालयको संख्या अत्यधिक भएको उल्लेख गर्दै अब गाभेर तिनलाई कम गर्नुपर्ने तर्क गर्नुभयो। उहाँले निजी र सामुदायिक विद्यालयलाई एकापसमा गाभ्नुपर्ने बताउनुभयो।

अर्काे प्रसंमा उहाँले निजी स्कुलले हिजोको जस्तै सञ्चालन गर्छु भनेर नसोचे हुन्छ भन्दै अब विगतमा जस्तो सञ्चालन सम्भव नभएको बताउनुभयो। उहाँले स्थानीय तहले नै अग्रस्थानमा रहेर शिक्षा क्षेत्रलाई हाँक्ने बताउनुभयो।

सांसद उमेश श्रेष्ठले जग्गा किनेर विश्वविद्यालय स्थापना गर्न निजी स्कुलका सञ्चालकलाई आह्वान गर्दै भन्नुभयो– ‘आउनुहोस् विराटनगरमा जग्गा किनेर विश्वविद्यालय बनाऔँ। त्यो भएपछि हामीले अरू विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने आवश्यकता रहँदैन।’

शिक्षा सचिव महेश दाहालले सार्वजनिक शिक्षा कमजोर मात्र नभई लाजमर्दाे नै रहेको बताउँदै निजी शिक्षाको स्तर राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कार्यपालिकाहरूले अव्यावहारिक किसिमका ऐन बनाएको बताउँदै उनीहरूले बनाएका ऐनका कारण समस्या सिर्जना भएको गुनासो पोखे। उनले मुलुकमा राजनीतिक संक्रमण अन्त्य भए पनि शिक्षा क्षेत्रमा संक्रमण अझै जारी रहेको तर्क गरे।

प्याब्सनका सह–अध्यक्ष डीके ढुंगानाले शिक्षामा सरकारी लगानीले मात्र सम्भव नहुने हुँदा निजी क्षेत्रको उपस्थिति पनि आवश्यक पर्ने बताए भने राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी शिक्षाप्रति राज्यले विभेद गर्दै आएको सन्दर्भ पनि उल्लेख गरे।