विश्वका कम्युनिस्टले हामीबाट सिकेका छन् : प्रधानमन्त्री

0
Shares

विजय नेपाली, पोखरा । 
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका कम्युनिस्टले आफ्नो सरकारबाट धेरै कुरा सिकेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले नेकपा विश्वकै नमुना पार्टी रहेको जिकिर गर्दै आफूहरूबाट विश्वका कम्युनिस्टले प्रगतिशील र देशभक्तिका कुरा सिकेको बताउनुभएको हो।
नेकपा गण्डकी प्रदेशको आयोजनामा पोखरामा शुरू भएको प्रदेशस्तरीय प्रशिक्षण भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो।
उहाँले तत्कालीन माओवादी र एमाले पार्टी एकताले विश्वलाई एउटा पाठ सिकाएको बताउनुभयो। उहाँले पार्टी एकतालाई जोगाइराख्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो। ‘इतिहासका फरक–फरक धारलाई एउटै ठाउँमा ल्याएर एउटै पार्टी बनाएका छौं, विश्वका कम्युनिस्टले प्रगतिशील देशभक्तिपूर्ण आन्दोलन गर्न हामीबाट शिक्षा लिएका छन्।’ –उहाँको भनाइ थियो।
लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढ्न खोज्दा प्रतिक्रियावादीले विगतमा बाटो छेकेको उहाँले बताउनुभयो। ‘आफूले जित्नुपर्छ, आफूले नजितेपछि अलोकतन्त्र भइहाल्छ, अधिनायकवाद भइहाल्छ भन्नु प्रतिक्रियावादको परिभाषा हो।’ –उहाँको भनाइ थियो।
गण्डकी प्रदेश नेकपाका अध्यक्ष हितराज पाण्डेको सभापतित्वमा र नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुरू भएको प्रशिक्षण कार्यक्रममा नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत केन्द्रीय नेताहरू सहभागी भएका थिए।
पार्टीको विभिन्न कमिटीमा अल्पमतमा पर्दै जानुभएका प्रधानमन्त्री ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भन्नुभयो– ‘पार्टीभित्रै फाटो बनाउन सकिन्छ कि, बिगार्न सकिन्छ कि, कसैको महत्वाकांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न सकिन्छ कि ? भन्दै हाम्राविरुद्ध अनेकौं शक्ति लागेका छन्।’
प्रधानमन्त्रीविरुद्ध नारा लगाउने ४ पक्राउ
प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। नेकपा गण्डकी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षण भेला कार्यक्रमका लागि पोखरा आउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भन्दै कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका विशाल तिमिल्सेना, पृथ्वीनारायण क्याम्पस संयोजक प्रभाष भट्टराई, केन्द्रीय उपाध्यक्ष नेत्र चापागार्इं, समाजवादी गण्डकी प्रदेश विद्यार्थी संयोजक रेशम सापकोटा रहेका छन्।
त्यस्तै पोखरा–७ रन्नचोकबाट जनप्रिय क्याम्पसका नेविसंघका विद्यार्थीहरूलाई समेत पक्राउ गरेको छ। प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको भन्दै पक्राउ गरिएको हो। नेविसंघ जनप्रिय क्याम्पसका उपसभापति निर्दोषविक्रम पौडेल, असिन सुवेदीलगायतलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो।