खरिपाटीमा चीनबाट फर्काइने नेपाली प्रकरण : केन्द्र र स्थानीय सरकारबीच समन्वयको अभाव



पुष्कर बुढाथोकी, भक्तपुर।

चीनको वुहान शहरमा रहेका करिब १ सय ८५ जना नेपाली कोरोना भाइरसको त्रासका बीच स्वदेश फर्कनका लागि व्यग्र प्रतीक्षा गरिरहेका छन्। त्यसो त मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने निर्णय गरेको छ। उद्धारका लागि करिब १२ करोड रुपियाँ अनुमानसहित बजेट पनि स्वीकृत गरेको छ।

चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ। कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताउनुभयो।चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ।

सरकारले चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।सरकारी संन्यत्रले स्थानीय स्तरमा उचित जनचेतना फैलाउन नसक्दा स्थानीयमा त्रास फैलिएको हो। स्थानीयको विरोध गरिरहेको अवस्थामा उचित सचेतना फैलाउन नसक्नु जिल्लास्थित सरकारी निकायको कमजोरी देखिन्छ।

यसबारेमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीयको विरोध गर्न पाउने अधिकारी भएको र अन्य थप कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्तासँग बुझ्न आग्रह गर्नुभयो।मुख्य ढोकामा नै कालो ब्यानर टाँगेर स्थानीय बासिन्दाले दुई सातादेखि विरोध गरेका छन्। उक्त स्थानमा सुरक्षाकर्मी, कामदार र कर्मचारीबाहेक अरूलाई प्रवेश गर्न दिइएको छैन।

सञ्चारकर्मीलाई समेत प्रवेश निषेध गरिएको छ। चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, ‘सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेका छौं।’ स्थानीय बासिन्दा त्रसित भएकाले अन्य स्थान छनोट हुनुपर्ने मिश्रको भनाइ छ।

चीनबाट स्वदेश फर्काएपछि नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ आवश्यकता पर्दछ। रोगको संक्रमण भएको देखिएमा अस्पतालमा छुट्टै राखेर उपचार गर्नुपर्ने र नभए पनि १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने चिकित्सकहरूको भनाइ छ।

विमानस्थलमा चेकजाँच गर्दा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने सरकारको तयारी छ। सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ।
चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने मन्त्री ढकालले बताउनुभयो। नेपाल ल्याउने विद्यार्थीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन्। क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार नै अभिमुखीकरण तालिम दिएको छ।

उचित पूर्वाधारको अभाव चीनबाट ल्याइएका विद्यार्थी कहाँ राख्ने भन्नेमा शुरूमा अन्योल देखिएको थियो।नेपाली कांग्रेस,नेपाल कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी, राप्रपा संयुक्तलगायतका राजनीतिक दलले मात्र होइन स्वयं नगरपालिकाले पनि सरकारले तयारीविना बस्तीको बीचमा कोरोना प्रभावित क्षेत्रबाट ल्याउने नेपालीलाई खरिपाटीमा राख्न नहुने भन्दै निरन्तर विरोध गरिरहेका छन्।

‘कोरोना भाइरस लागेका विदेशी नागरिकलाई चीनले नै फर्काउँदैन, बिरामीलाई ल्याउन खोजिएकै होइन, सामान्य नागरिकलाई निगरानीका लागि दुई साता राखिने मात्र हो, तर सरकारले जनतासँग परामर्श नगरी निर्णय गरेका कारण अन्योल र त्रास बढेको हो।’ मेयर मिश्रले भन्नुभयो।

बाह्य मुलुकमा बस्तीको बीचमै पनि क्वारेन्टाइन राखेको देखिन्छ। हङकङले चीन मुख्य भूमिबाट आफ्नो क्षेत्रमा आउने नागरिकलाई दुई साता निगरानी तथा परीक्षण केन्द्र ‘क्वारेन्टाइन’ मा अनिवार्य रूपले राख्दै आएको छ।

त्यसो त स्थानीयको विरोध मानवीय संवेदनाहीन, निर्दयी र असहिष्णु अभिव्यक्ति भएको प्रक्रिया पनि आएका छन्। तर, हाल विश्वमा नै महामारीका रूपमा रहेको रोगलाई सरकाले हल्का रूपमा हेरेको आरोप स्थानीयको आरोप छ। नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनु बुद्धिमानी नहुने बताउनुभएको छ।

चारैतर्फ बार लगाएर घेरिएको उक्त तालिम केन्द्रको वरपर बाक्लो बस्ती छ। केन्द्रको पूर्वतर्फको पर्खालभन्दा ३०/४० मिटर वरपर खानेपानीको प्रशोधन केन्द्र छ। पर्खालसँगै जोडिएर सार्वजनिक धारो छ।

चाँगुनारायण नगरपालिकाको ५, ७ र ८ नम्बर वडा यस केन्द्रको आसपासमा पर्दछन्।स्थानीयले बासिन्दालाई सरकारले कोरोना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ नेपाली ल्याएर राख्ने भनेर सचेतना यस क्षेत्र वरपर फैलाउन सकेको छैन्। उहीं सुरक्षाकर्मीको बलमा केन्द्रभित्र कोठा खाली गर्ने काम मात्र गरेको देखिन्छ।

यस वरपरका स्थानीय बासिन्दाको स्वस्थ जीवनको ग्यारेन्टी दिन नसक्नु सरकारको कमजोरी हो।त्यसैले अन्यत्र स्थानका स्थानीय बासिन्दालाई समेत सचेत बनाउँदै चीनमा रहेका नेपालीलाई सुरक्षित तरिकाबाट १४ दिनको क्वारेन्टाइन राख्नु राज्यको दायित्व हो।

मंगलबार प्रमुख जिल्ला अधिकारी पाण्डे नेतृत्वको सुरक्षा अधिकारीसहितको टोलीले स्थानीय अगुवासँग छलफल गरी वातावरण सहज बनाउने पहल गरेको छ।यतिबेला राज्यमा ३ तहका सरकारले काम गरिरहेका छन्। यी तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने अहिलेको अवस्था हो। तर, यस सन्दर्भमा केन्द्र सरकारले समन्वय नगरी स्थानीय सरकारलाई पेल्न खोजेको स्थानीयको बुझाइ छ।

अर्कातिर महामारीको विश्वव्यापी हल्ला फैलिरहँदा रोगबारे स्थानीयलाई बुझाउन नसक्नु पनि सरकारको कमजोरी देखिएको छ। नाम नबताउने शर्तमा एक जनप्रतिनिधि भन्छन्– ‘यदि भक्तपुर नगरपािलकामा भए सरकारको एकलौटी निर्णयका विरुद्ध मुठभेडकै स्थिति आउने थियो तर यहाँ भने त्यस्तो अवस्था सायद नआउला। केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गर्दै स्थानीयलाई सम्झाउँदै बुझाउँदै निर्णय लिई थप कदम चाल्नु अपरिहार्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस्