बागलुङमा ११औं चरणको औषधी सेवन कार्यक्रम शुरू



सिर्जना पन्त, बागलुङ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म आम औषधि सेवनमार्फत हात्तीपाइले रोगलाई संसारबाट निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।लगातार ६ पटकसम्म औषधि सेवन गरेमा निवारण हुने यो रोग बागलुङ जिल्लामा १० पटकसम्म अभियान सञ्चालन गर्दा पनि संक्रमण देखिन छोडेको छैन।

सन् २००१ मा गरिएको सर्वेक्षणबाट नेपालका ६३ जिल्लामा हात्तीपाइलेको औषधि खुवाउनुपर्ने देखिएपछि सन् २००३ बाट शुरू गरिएको आम नागरिकमा औषधि सेवन अभियानमा हालसम्म ५० जिल्लामा सफलता मिलिसकेको छ।
अहिले गण्डकी प्रदेशका बागलुङ, पर्वत र लमजुङसहित देशका १३ वटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सेवन कार्यक्रम शुरू भएको छ।

शनिबारबाट बागलुङमा पनि ११औं चरणको औषधि सेवन कार्यक्रम शुरू भयो। हात्तीपाइले रोगको प्रिभालेन्स १ प्रतिशतभन्दा कम भयो भने औषधि सेवनको कार्यक्रम रोकिने भए पनि जिल्लाको बागलुङ नगरपालिकामै बर्सेनि संक्रमणको दरमा वृद्धि भएपछि यो वर्ष पनि औषधि सेवन अभियान सञ्चालन गरिएको हो।

क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुनुको सट्टा बागलुङ नगरपालिका–१२ नारायणस्थानमा प्रिभालेन्स दर वृद्धि हुँदै गएको छ।सन् २००१ मा बागलुङमा हात्तीपाइले रोगको प्रिभालेन्स ४ दशमलव ८३ प्रतिशत रहेको थियो। २०१४ मा गरिएको सर्वेक्षणमा जिल्लाको सबै स्थानमा १ प्रतिशतभन्दा कम देखिए पनि नारायणस्थानमा ३ प्रतिशत प्रिभालेन्स देखिएपछि थप २ वर्ष औषधि सेवन गर्नुपर्ने भयो।

त्यसको २ वर्षपछि सन् २०१६ मा गरिएको परीक्षणमा नारायणस्थानमै २ दशमलव ३ प्रतिशत प्रिभालेन्स देखापर्यो, त्यसपछि निरन्तर औषधि सेवन कार्यक्रम सञ्चालन गरेर सन् २०१८ मा परीक्षण गर्दा नारायणस्थानमा हात्तीपाइलेको प्रिभालेन्समा वृद्धि भएर ४ दशमलव ६७ प्रतिशत पुगेपछि हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ।

यो वर्ष बागलुङमा २ लाख ६३ हजार १ सय २० जनालाई औषधि खुवाउने लक्ष्यका साथ अभियान शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलेले बताउनुभयो। गर्भवती, ७ दिनभित्रका सुत्केरी, दीर्घ रोगीबाहेक जिल्लाका सबै नागरिकलाई घर–घरमै पुगेर औषधि खुवाइने उहाँले बताउनुभएको छ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान केही दिनसम्म जारी रहने बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो। नगरपालिका र जिल्लाभर आफूलाई पायक पर्ने स्थान र केन्द्रमा पुगेर हात्तीपाइलेको औषधि खान सकिने व्यवस्था गरिएको खनालले जानकारी दिनुभयो।

विश्वका ७१ मुलुकमध्ये ५० देशमा यो औषधि खुवाउने काम भइरहेको छ। लामखुट्टेले संक्रमितलाई टोकेपछि सार्ने भएकाले जोसुकै मानिस संक्रमणको जोखिममा रहन्छन्। तत्काल लक्षण नदेखिने भएकाले लामो समयपछि मात्र थाहा हुन्छ। हातखुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा संक्रमण देखिने, अण्डकोश सुनिएर हाइड्रोसिल हुनेजस्ता समस्या यो रोगमा हुने गर्छ।

औषधि खाएपछि कम्तीमा १ वर्षका लागि सर्ने समस्या नहुने भएकाले निवारणको अवस्थामा लैजान पुनः पहल गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन यम बरालले बताउनुभयो।औषधि खुवाउने काममा कार्यालयले स्वास्थ्यकर्मी नै खटाएको छ।

पहिलो दिनमा तोकिएका खोप केन्द्रमा र दोस्रो दिनदेखि खोजी गरेर सबै नागरिकलाई औषधि खुवाउने कार्यक्रम तय गरिएको छ।मुटुको रोगी, कलेजी रोगी, गर्भवती महिला, ५ वर्ष मुनिका कुपोषित बालबालिका, २४ घण्टाभित्र ज्वरो नआएको व्यक्तिलाई हात्तीपाइलेको औषधि खुवाउन नहुने चिकित्सकहरूले बताएका छन्।

हात्तीपाइले लिमफ्यटिक फाइलेरिया ब्लडमा हुने जुका हो। यो फाइलेरिया मानव शरीरमा भएको खण्डमा महिलाको स्तन सुन्निने र हातखुट्टा सुन्निने हुन्छ। विश्व स्वास्थ्य संगठनले सन् १९९७ मा नै हात्तीपाइले रोगको प्रकोपदर एक प्रतिशतभन्दा कम बनाउने जनाएको थियो। विश्वमा यो औषधि खुवाउने अभ्यास चीनले गरेको थियो।

औषधिले राम्रो नतिजा देखाएका कारण अन्य देशमा पनि हात्तीपाइले रोगको औषधि खुवाउन शुरू गरिएको हो।हात्तीपाइले रोगको सर्वे गर्दा विश्वमा १ प्रतिशतभन्दा बढी ९० वटा देशमा यो रोगका बिरामी देखिएका थिए । यसैअनुरूप नेपालले पनि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्यसहित २००३ मा कार्यक्रम शुरू गरेको हो। चीन र दक्षिण कोरियाले २००७ र श्रीलंकाले गत वर्ष नै हात्तीपाइले रोग निवारण घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्