‘उपत्यकाभित्र शान्ति–सुरक्षा मजबुत छ’



विश्वराज पोखरेल
प्रहरी नायब महानिरीक्षक
प्रमुख, महानगरीय प्रहरी कार्यालय, रानीपोखरी

महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेसँगै डीआईजी विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउने र प्रहरी कर्मचारीको मेसलगायतको सुविधा अभिबृद्धि गर्ने अभियान एक साथ शुरुआत गर्नुभएको छ। हरेक प्रहरी कार्यालयमा आम नागरिकको सुबिधाका लागि प्रहरी सहजकर्ताको व्यवस्थाले एकातर्फ प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ भने अर्कोतर्फ प्रहरी कार्यालयमा रहेको तीन तहको मेसलाई सामूहिक रूपमा सञ्चालन गर्ने अभियान अगाडि बढाएपछि प्रहरीको तल्लो तहका कर्मचारीमा नयाँ उत्साह थपिएको छ। संगठनभित्र गलत काम गर्नेप्रति कठोर नीति लिनुभएका डीआईजी पोखरेलले प्रहरीको बर्दी लगाएर गलत काम गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिनुभएको छ। संघीय सरकारको राजधानीसमेत रहेको काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको अवस्था, विप्लव समूहको गतिविधि, प्रविधिको प्रयोगअन्तर्गत सीसी क्यामेरा जडान, समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिता र आगामी योजनालगायतको विषयमा केन्द्रित रहेर महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलसँग नेपाल समाचारपत्रका लागि दीपक रिजालमधुसूदन रायमाझीले गरेको कुराकानी :

तपाईंले नेतृत्व सम्हालेपछि उपत्यकाको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन कसरी काम गरिरहनुभएको छ ?

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएको छु। अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै नतिजा हासिल गर्ने काममा मेरो ध्यान केन्द्रित भएको छ।

उपत्यकाभित्र गण, गुल्मलगायतका सबै कार्यालयमा भएको जनशक्तिको व्यवस्थित र योजनाबद्ध परिचालन गरेर अपराध हुन सक्ने सम्भावित ठाउँहरूमा कडा सुरक्षाको व्यवस्था गरेका छौं र अपराधिक क्रियाकलापको सम्भावना बोकेका व्यक्तिहरूको कडा निगरानी गरेका छौं।

उपत्यकाभित्र पछिल्लो समयमा व्यापक प्रहरी परिचालन भएका कारण ठूला अपराधको घटना घटेका छैनन् र घट्ने सम्भावना पनि छैन। पेशेवार अपराधीहरू र कायर क्रियाकलापबाट आप्mनो उपस्थिति जनाउने विप्लव समूहलगायतका सबै उपर हाम्रो कडा निगरानी रहेको छ।

यसअघि उपत्यकाभित्र चोरीको घटना बढी भयो भन्ने गुनासो आइरहेको थियो। चोरीको घटना नियन्त्रण गर्नका लागि अहिले विशेष अभियान सञ्चालन गरेका छौं। यसका लागि दैनिक र रात्रिकालीन अवस्थामा पनि थप जनशक्ति व्यवस्थापन गरेर परिचालन गरेका छौं।

जसबाट चोरीको घटना घट्दो क्रममा छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लगेका छौं। स्थानीय र प्रहरीको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रममार्फत सम्भावित अपराधको घटना रोक्न समेत समुदायबाट भरपुर सहयोग मिलेको छ। समग्र शान्ति सुरक्षा मजबुद्ध बनाउनका लागि संगठनभित्र रहेका केही कामहरूमा सुधार गर्नुपर्ने क्षेत्रहरूको पहिचान गरिसकेका छौं।

प्रहरीको व्यवहार सम्बन्धमा आउने सानातिना गुनासो अन्त्यका लागि व्यवहार सुधार अभियान चलाएका छौं। शिष्ट, सभ्य र नम्र बोलीका साथ कडा रूपमा कानुन कार्यान्वयन गर्न निर्देशन दिएको छु। यसको बारेमा नियमित रूपमा अनुगन गर्ने काम पनि भइरहेको छ।

प्रहरीले रातदिन धुवाँ, धुलो, थकावट नभनी काम गर्नुपर्ने अवस्था छ। यसका लागि मनोबल उच्च बनाउनुपर्ने खाँचो छ। अहिले पहिलो चरणमा प्रहरीको मेस सुधार गर्ने काम अगाडि बढाएको छु। प्रहरीमा रहेको तीन तहको मेस प्रणाली खारेज गरेर जवानदेखि अधिकृतसम्मको सबैको एउटै सामूहिक मेस सञ्चालन गर्ने अभियानमा जुटेका छौं।

यसका लागि भौतिक संरचना मर्मत सम्भार तथा निर्माण, पुनर्निर्माण र मेसमा आवश्यक फनिर्सिङलगायतका सरसामानको व्यवस्थापन गर्ने कार्य भइरहेको छ। केही प्रहरी कार्यालयले मेस सुधार एवं निर्माणको कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन् र उत्कृष्ट मेस निर्माण, सरसामानको व्यवस्थापन एवं उत्कृष्ट फनिर्सिङ गर्नेलाई पुरस्कृत गर्ने कार्यसमेत शुरु गरिसकेको छु।

उपत्यकाभित्र अहिले सबै प्रहरी कार्यालयमा सामूहिक मेस प्रयोगको शुरूआत भइसकेको छ। अधिकृत र जवानहरूले एउटै मेसमा खाना खाने गरेका छन्। सँगै खाना खानुले मात्र सुधार हुँदैन। भौतिक संरचनाको विकासदेखि मेसमा आवश्यक पर्ने अन्य सामाग्रीहरूको व्यवस्थापन गर्ने, फर्निसिङ गर्ने कुरा महत्वपूर्ण छन्। त्यसैले अझै सामूहिक मेसको पूर्णताका लागि हप्ता दस दिन लाग्न सक्नेछ।

सिनियर अधिकृत र जवानको मेस एउटै हुँदा चेन अफ कमान्डमा असर गर्छ भन्ने कुरा पनि आएको छ नि ?

सिनियर अधिकृतहरूले जवानलाई जति नजिक राख्न सक्यो, त्यति नै जवान कमान्डरको आदेश पालन गर्न तयार हुन्छन्। निकटता नहुँदा अप्ठ्यारो परिस्थितिमा हाकिमलाई जवानले साथ छोडेका थुप्रै घटनाहरू छन्। सामूहिक मेसको अभियानले चेन अफ कमान्डमा कुनै असर गर्दैन।

हामीले निर्वाह गर्ने जिम्मेवारी फरक–फरक छ। सामूहिक मेस शुरु भइसकेपछि मेसमा आएको सुधारले जवानहरूमा थप उत्साह थपिएको छ। यसले सामूहिक जिम्मेवारी बोधको भावना जागृत गराएको छ। जवानहरूको मनोबल बढेको छ।

अभिभावकत्व प्राप्त गरेको अनुभूत गरेका छन। जसले गर्दा सेवा प्रवाहमा ठूलो प्रभावकारिता आएको छ। भेदीय भावनाको अन्त्य भएको छ। दर्जागत भेदको कुण्ठा मरेको छ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा समूहले चन्दा संकलन गर्ने कामलाई तीब्रता दिए पनि त्रासका कारण भन्न सकिरहेका छैनन् भन्ने कुरा पनि आएको छ नि ?

सरकारबाट प्रतिबन्धित भएको विप्लव समूहको कुनै पनि गतिविधिलाई हामी छुट दिदैनौँ। अवैध गतिविधिमा संलग्न हुने, जनतामा भय त्रास सृजना गर्ने सुरक्षा व्यवस्थालाई खलल पुर्याउने किसिमबाट विप्लव समूहले गरिरहेको सबै प्रकारको गतिविधि नियन्त्रण तथा कानुनी कारबाहीका लागि हामी कडा रूपमा प्रस्तुत भैरहेका छौं।

सुखी नेपाली र समृद्ध मुलुक निर्माणको पुनित कार्यमा संकल्पित वर्तमान सरकारले स्थायी शान्ति र सुरक्षाका लागि गरेका सबै प्रयत्नहरूलाई उचाइमा पुर्याउने कार्यको बाधकका रूपमा हत्याहिंसा विष्फोट, आगजनी र मानवीय तथा संरचनागत क्षति गरी नेपाली जनतालाई सधैं पीडा र दुःखको दलदलमा फसाइराख्न कोही कसैबाट हुने अमानवीय तथा कायरपूर्ण गतिविधि नियन्त्रणका लागि निर्दयीपूर्वक कानुनको प्रयोग गर्ने कुरामा हाम्रो कसैसँग सम्झौता हुन सक्दैन।

मजबुत शान्ति सुरक्षाबाट मात्रै मुलुकमा सुशासन, स्थायी शान्ति, विकास र समृद्धि निश्रृत हुने हुँदा हामी हाम्रो जिम्मेवारीमा देश, जनता र सरकारप्रति जवाफदेहीपूर्ण ढंगले प्रस्तुत भइरहेका छौं। विप्लव समूहलगायतबाट चन्दा संकलन गर्ने विषयमा भएका गतिविधिहरू नियन्त्रण गर्न चारवटै सुरक्षा निकायले गम्भीरताका साथ काम गरिरहेको छ।

उनीहरूको गतिविधिबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर अति नै सावधान छौं। चन्दा आतंक सृजना गर्नेलाई कानुनी दायरमा ल्याएका छौं। यो प्रक्रिया निरन्तर चलिरहन्छ। विप्लव समूहले जनतामा आफ्नो उपस्थिति जनाउने कोसिस गरेको देखिन्छ।

चन्दा उठाउने कामलाई नै उनीहरूले मुख्य लक्ष्य बनाएको पाइन्छ। सुरक्षा निकाय आफ्नो साधनस्रोतको अधिकतम् प्रयोग गरेर उनीहरूको गतिविधि निस्तेज पार्ने काममा सक्रियताका साथ लागेको छ।

सर्वोच्च अदालते पटक–पटक रिहा गर्न आदेश दिए पनि विप्लवका नेता तथा कार्यकर्तालाई प्रहरीले बारम्बार पुनः पक्रिरहेको छ नि ?

अदालतको सम्मान सुशासनको एउटा महत्वपूर्ण आधार हो। अदालतको सम्मान गर्ने कुरामा प्रहरी कही चुक्दैन। कानुनबमोजिम बाहेक कोहीकसैलाई प्रहरी पक्राउ गर्दैन।

नागरिकको हक अधिकार संरक्षण गर्ने प्रहरी निकायले कसैको हक अधिकार खोस्ने वा हनन् गर्ने काम कदापि गर्न सक्दैन। अदालतबाट छाडिएका कोही व्यक्तिहरू पक्राउ पर्नुको कारण निजले अर्को स्थानमा गरेको अपराधमा अनुसन्धानका लागि नै हो। अन्यथा प्रहरीबाट सम्मानित अदालतले छाडिएको व्यक्तिलाई कदापि पक्राउ गर्दैन।

राजधानी काठमाडौंको सुरक्षा चुनौती के हो ?

काठमाडौं उपत्यकामा सुरक्षा चुनौतीका रूपमा केही छैन। अहिले शान्ति सुरक्षाको अवस्था मजबुद छ। उपत्यकामा हुने चोरी अपराधलाई नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। शान्ति सुरक्षामा कुनै पनि त्रास र भय सृजना नहोस् भनेर विप्लव समूहले लुकिछिपी कायरपूर्वक घटाउने घटना हुन नदिन प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ।

उपत्यकाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। पेशेवर अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरू अहिले सकिएका छन्। समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने कुरामा प्रहरी जस्तोसुकै हिंसात्मक र ध्वंसात्मक गतिविधिबिरुद्ध बलिदानका साथ काम गरिरहेको छ। त्यसैले उपत्यकामा त्यस्तो सुरक्षाको उल्लेखनीय चुनौति महसुस छैन।

गुण्डागर्दी अहिले पनि कायमै छ भन्ने गुनासो आउने गरेको छ नि ?

अहिले नेपाल प्रहरीमा गुण्डागर्दी भन्ने शब्द नै नौलो भएको छ। सानातिना झै–झगडामा कोही कसैलाई धम्क्याउनेसम्मको गतिविधि हुन सक्छ। ठाउँठाउँमा खुलेआम रुपमा पैसा उठाउने, डर त्रास सृजना गर्ने, अपहरण गर्ने जुन खालका घटनाहरू विगतमा थिए। त्यो अहिले पूर्ण रुपमा नियन्त्रण भइसकेको छ।

जनताको शान्तिपूर्वक बाच्ने र आफ्नो हकअधिकार उपयोग गर्ने अधिकारलाई गुण्डागर्दीको नाममा वा अन्य कुनै नाममा कोहीकसैबाट क्षति पुर्याउने काम भएमा त्यस्ता व्यक्तिविरुद्ध प्रहरी आफ्नो अधिकार निर्दयीपूर्वक प्रयोग गर्ने कुरामा पछि हट्दैन।

स्थायी शान्ति , सुशासन, समृद्ध मुलुक र सुखी नेपालीको लागि सरकारबाट भइरहेको प्रयत्नमा अवरोध गर्ने जो कोहीमाथि आफ्नो क्षेत्राधिकारभित्र प्रहरी निर्दयीपूर्वक प्रस्तुत हुन्छ। अबका दिनमा समाजकै एक सदस्यको गुण्डागर्दीबाट अर्को सदस्य त्रसित हुनुपर्ने अवस्था रहने छैन।

उपत्यकाभित्र सीसी क्यामेरा जडान गर्ने अभियान कसरी अगाडि बढिरहेको छ ?

उपत्यकाभित्र महानरीय प्रहरी कार्यालय रानीपोखरी र मातहत प्रहरी कार्यालय समेतबाट मनिटर हुने गरी हाल २०३३ वटा सीसी क्यामेरा जडान गरिएको छ। निकट भविष्यमै थप १ सय ३४ सीसी क्यामेरा टेन्डरको प्रक्रियामा गएको छ।

उपत्यका पूरै सीसी क्यामेराको पहुँचमा राख्न २१ देखि २२ हजार सीसी क्यामेरा जडान गर्नुपर्छ। सीसी टिभी क्यामेरा जडान गर्ने कामलाई अभियानकै रुपमा अगाडि बढाएका छौं। काठमाडौं महानगरपालिकाले पनि सहयोग गरेको छ। यस वर्षमा पनि सीसी क्यामेरा थपिने क्रममा छ।

चरणबद्ध रूपमा सीसी क्यामेरा जडान भइरहेको छ। सीसी क्यामेरा जडान भएपछि शान्ति सुरक्षालाई थप मजबुद हुने बारेमा सरकारलाई जानकारी गराइराखेका छौं। सरकारबाट पनि यसमा ठूलो सहयोग भइरहेको छ।। यसमा हामी सबैको प्रयत्न भएमा तीन वर्षभित्र हामीले राखेको लक्ष्य पूरा हुनसक्छ।

तपाईंले प्रहरीको आचरण सुधार गर्ने अभियान चलाउनुभएको छ, तर केही प्रहरी घूससहित पक्राउ पर्ने क्रम रोकिएको छैन नि ?

केही प्रहरी यदाकदा देखिने कमजोर आचरण व्यवहारले हामीहरूको ठुलो आलोचना हुने गरेको तथा हामीले गरेका ठूल्ठूला उपलब्धिहरू छायाँमा पर्ने गरेका कारण मैले उच्च प्राथमिकताका साथ प्रहरीको आचरण व्यवहारमा सुधारको अभियान तिब्रताका साथ अगाडि बढाएको छु।

प्रहरीको असल आचरण व्यवहार निष्पक्षता, इमानदारिता र व्यावसायिकताबाट सरकारको सुशासनको अभियान पूर्णतामा पुग्ने प्रकृया शुरु हुन्छ। यसबाट शान्ति सुरक्षा मजबुत र सुदृढ पनि बन्दछ। यति हुँदाहुँदै पनि यदाकदा प्रहरी लोभलाभमा परेका अप्रिय घटनाहरू हुने गर्दा हामी संगठनका सदस्यहरूको शिर निहुरेको छ।

त्यसैले यस्ता घटनाहरू रोक्न र घटेको अवस्थामा कडाभन्दा कडा कानुनी कारबाही गर्न हामी कृयाशील छांै, यो युनिफर्मको दुरुपयोग गरेर यूनिफर्मकै आडमा कोही कसैलाई गैह्रकानुनी लाभ प्राप्त गर्ने अधिकार छैन र यदि कसैले त्यस्तो गर्छ भने त्यसलाई यो संगठनमा बस्ने अधिकार पनि छैन।

त्यस्ता प्रहरीविरुद्ध हामी निर्दयीकासाथ कारबाही गर्छौं। कुनै पनि सुरक्षाकर्मीले आफ्नो स्वार्थपूर्तिका लागि लाभ गरेमा, त्यस्ता प्रहरी कर्मचारीलाई सूचना आउना साथ कारबाही गर्छाैं। भर्खरै मात्र केही अधिकृत र जवानले आफ्नो अधिकार क्षेत्रभित्र बाहिर गएर काम गरेकाले कारबाहीको दायरामा ल्याएका छौं।

आर्थिक विषयवस्तुसँग जोडिएर आउने कुनै पनि घटनाको बारेमा संगठनभित्र कुनै पनि कम्प्रमाइज हुँदैन। संगठन बलियो हुनुपर्छ। संगठन चेन अफ कमान्डमा चल्नुपर्छ। कानुनको मजबुद प्रयोग पहिला संगठनभित्र हुनुपर्छ। त्यसपछि मात्र समाजमा पुग्छ।

संगठनभित्र युनिर्फम लगाएर त्यसको आडमा गलत काम गर्ने छुट कसैलाई पनि छैन। यदि कसैले गरेको पाइएमा ठाउँको ठाउँ कारबाही हुन्छ। मुलुक बनाउनु छ, समाज बनाउनु छ, परिवर्तन गर्नुछ। परिवर्तन आफैंबाट गर्नुपर्छ। संगठनभित्र राम्रो परिपाटी बसेपछि समाजमा लागू गर्न पनि सहज हुन्छ। सुधार अभियानको अभियनता आफैं बन्नुपर्छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा कस्तो खालको सन्देश दिएको छ ?

यो कार्यक्रमको मुख्य उपलब्धि भनेको हरेक राष्ट्रिय र सामाजिक विषयवस्तुलाई साझा रूपमा ग्रहण गर्न सकेको छ। हिजोको दिनमा कुनै कर्तव्य प्रहरीको मात्र हो वा समाजको मात्र हो भन्ने बुझाइ थियो। तर आजको दिनमा समाजप्रतिको कर्तव्य, मुलुकप्रतिको कर्तव्य, सुरक्षाप्रतिको कर्तव्य हामी सबैको हो भन्ने अनुभूत हुन थालेको छ।

हिजोको दिनमा शान्ति सुरक्षाको काम प्रहरीको मात्र हो भन्ने बुझाइ थियो, अहिले समाजमा त्यो धारणामा परिवर्तन आएको छ। समाजले प्रहरीलाई सहयोग गरेको अवस्थामा मात्र समाज सुरक्षित हुन्छ भन्ने मानसिकताको विकास भएको छ।

शान्ति सुरक्षा कायम गर्न के–के चाहिन्छ भन्ने कुरामा समाज सचेत छ। प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्ने काममा समेत समुदायको तर्फबाट निकै रचनात्मक साथ र सहयोग मिलेको छ। समाजले खेलेको सकारात्मक भूमिकाका कारण प्रहरीको मनोबल पनि उच्च भएको छ।

एकअर्कामा अपनत्वको भावना पनि विकसित हुँदै गएको छ। प्रहरी समुदाय एकसाथ लाग्दा सम्भावित अपराधिक क्रियाकलापसमेत नियन्त्रण गर्न सहज भएको छ। भएको अपराधका बारेमा पनि छिटोभन्दा छिटो सूचना आउने गरेको छ। यस कार्यक्रमले निरन्तता पाउँछ । कुनै कार्यक्रमले जब नतिजा दिन्छ, त्यसलाई निरन्तरता दिनुको अर्को विकल्प नै छैन।

उपत्यकाको शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीको संख्या थप्नुपर्ने अवस्था छ कि छैन ?

उपत्यकाभित्र शान्ति सुरक्षा कायम गर्न प्रहरीका विभिन्न तहका कार्यालयहरूले काम गरिरहेका छन्। अहिले उपत्यकाभित्र प्रहरीको ठूलो माग बढिरहेको छ। प्रहरीको सेवा लोकप्रिय बनेसँगै आम नागरिकले प्रहरीको सेवाको माग बढाएका छन्। कतिपय ठाउँमा भौतिक संरचना नभएका कारणले माग भएर पनि राख्न सकिरहेका छैनौं।

स्थानीय तह, समुदायहरूले संरचना निर्माणमा सहयोग गरेको ठाउँमा माग हुनासाथ युनिट राखेका छौं। उपत्काभित्र वस्ती विकास हुने क्रम तीब्र गतिमा अगाडि बढेको छ। उपत्यकाभित्र प्रहरीको जनशक्ति अझै बढाउनुपर्ने आवश्यकता छ। प्रविधिको प्रयोगको आधारमा कति सख्या बढाउने भन्ने विषयको टुंगो लाग्छ।

सीसी क्यारा जडान ठूलो संख्यामा गर्न सक्यांै, अनुसन्धानलाई प्रविधिमैत्री बनायौं भने केही जनशक्ति अपुग भए पनि धेरै काम गर्न सकिन्छ र शान्ति सुरक्षालाई मजबुद बनाउन सकिन्छ। प्रविधि पनि लगानी गर्न सकेनौं, जनशक्ति पनि कम भयो भने काम गर्न कठिनाइ हुन्छ। हामीसँग अहिले उपत्यका हेर्न जनशक्ति नौ हजारको संख्यामा छ।

बढ्दो शहरीकरणको स्थालाई हेर्ने हो भने करिब १५ हजार जनशक्ति पुर्याउनुपर्ने आवश्यकता छ। सबै प्रहरीले सबै काम गर्नुपरिरहेको अवस्था छ। एउटै मान्छेलाई सबै कुरामा दक्ष हो भनेर हुँदैन। विषयगत ज्ञान दिएर दक्षता बढाउनुपर्ने आवश्यकता छ।

अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रणमा लगानी बढाउनु अपरिहार्य भएको छ। यथास्थितिको लगानीबाट अपेक्षित उपलब्धि हासिल गर्न कठिन छ। सेवा विशिष्टिकरणको अपरिहार्यतालाई सम्बोधन गर्नु जरुरी छ। उपलब्धि लगानीको आधारमा प्राप्त हुने हुँदा त्यसतर्फ हामीले ध्यान दिएका छौं।

उपत्काभित्रको ट्राफिक व्यवस्थापन निकै जटिल बन्दै गएको देखिन्छ नि ? यसका लागि केही योजना अगाडि सार्नुभएको छ कि ?

उपत्काभित्र अलपत्र अवस्थामा रहेका ट्राफिक लाइट बाल्ने कामलाई अभियानकै रुपमा अगाडि बढाएका छौं। आगामी दिनमा ट्राफिक लाइट थप्ने क्षेत्रको पहिचान गरेर थप्ने काम हुन्छ।

जसका कारण उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनको काम सहज हुनेछ। ट्राफिक व्यवस्थापनमा अहिले जनशक्ति नै खटिने गरेका छन्। प्रविधिको प्रयोगसँग जनशक्ति परिचालनको संख्या पनि घटछ।

गायिका आस्था राउत प्रकरणमा पक्राउ गर्नुहुँदैन भन्ने दबाब हुँदाहुँदै पनि प्रहरीले उनलाई पक्राउ गर्यो नि ?

प्रहरी अहिले पनि आमनागरिकको सुरक्षाको संवेदनशील बन्छ। सुरक्षा संवेदनशीलतासँग प्रहरी गम्भीर रहन्छ। सुरक्षाको विषय अन्य कुनै विषयवस्तुसँग तुलना गर्न मिल्दैन। सुरक्षा कायम गर्ने कुरामा व्यक्ति विशेषको प्रोफाइलको कुनै महत्व हुन्न।

हामीले सबैको साझा बन्ने ढंगले काम गर्न सकेनांै भने प्रहरीको प्रभावकारिता रहँदैन। व्यक्ति विषयको मुद्दासँग भन्दा पनि समग्र हाम्रो चाहना भनेको मुलुक बलियो हुनुपर्छ, कानुनको ठिक र प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्छ, सबै नागरिकमा कानुनको समान सुबिधा र प्रयोग हुन्छ भन्ने कुरामा आम नागरिकमा विश्वास हुने ढंगले काम गर्नु हाम्रो कर्तव्य हो।

अन्तमा तपाईंको भन्नु केही छ कि ?

सुरक्षा सबैको साझा विषय हो। यसलाई सरकारको मात्र दायित्व हो वा सुरक्षा निकायको मात्र कर्तव्य हो भन्ने बुझ्नुहुँदैन। शान्ति सुरक्षा कायम गर्ने कुरामा सुरक्षा निकायको अहम भूमिका र जिममेवारी रहन्छनै तथापि आम नागरिकको भूमिकालाई पनि भुल्न सकिदैन।

सबैको प्रयासबाट सुरक्षित समाज सुरक्षित मुलुक बनाउन सके मात्र हामी सबैले आफ्नो जीवनमा आर्जन गरेको मान, प्रतिष्ठा र आर्थिक उपलब्धिको उपयोग गर्दै आफ्ना सन्ततिलाई सभ्य, सुरक्षित समाज हस्तान्तरण गर्न सक्छांै।

अन्यथा हाम्रा सबै प्रकारका हकअधिकारका साथै जीवनकै असुरक्षाले एउटा भय त्रास र आतंकमा जिउनुपर्ने अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले एकअर्कालाई आरोपप्रत्यारोप र नकारात्मक टिकाटिप्पणी गर्नुभन्दा सुरक्षालाई सबैले साझा अपरिहार्य आवश्यकताको रूपमा बुझी आ–आफ्नो ठाउँबाट योगदान गर्न आम नागरिकहरूलाई अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्