योग्यता छानविन गर्न माग

0
Shares

काठमाडौं, (नेस)।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सांसद डा. डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डा. श्रीकृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठाउँदै सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले नेपालका निजी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै फिर्ता गराउने बारेमा पनि संसद्को ध्यानाकर्षण गराउनुभएको छ।

‘निजी मेडिकल कलेजले धेरै शुल्क लिएको बारे पटकपटक आवाज उठ्दै आएको छ’, डा. संग्रौलाले भन्नुभयो– ‘विद्यार्थीका अभिभावक, कलेज सञ्चालक र सरकारबीच कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो।’

तर, सहमतिविपरीत कलेजहरूले बढी शुल्क लिइरहेका समाचार आइरहेका छन् भन्दै उहाँले सरकारले आफूसँग भएको सहमति कार्यान्वयन भयो कि भएन संसद्लाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।