फागुन १४ मा स्ववियु निर्वाचन नहुने

नेविसंघ भन्छ : निमित्त रेक्टरलाई संयोजक मान्दैनौं

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही फागुन नहुने निश्चित भएको छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवं निमित्त रेक्टर प्राडा. शिवलाल भुसालले विद्यार्थी संगठनबीच कुरा नमिलेका कारण फागुन १४ गते निर्वाचन नहुने जानकारी दिनुभयो। यो वर्ष निर्वाचन गर्ने तयारी भए पनि फागुन १४ गते नै सम्भव नभएको उहाँको भनाइ थियो।

विद्यार्थी संगठनबीच फागुनको पहिलो साताभित्र निर्वाचन गर्ने सहमति नभए यो वर्ष निर्वाचन नहुने प्रायः निश्चित छ। संयोजक भुसालले चैतदेखि परीक्षा गर्नुपर्ने भएकाले फागुनभित्रै निर्वाचन गर्नुपर्ने बाध्यता रहेको जानकारी विद्यार्थी संगठन तयार भएपछि मात्रै निर्वाचन गर्न सम्भव हुने बताउनुभयो।

उता नेपाल विद्यार्थी संघले सरकारले रेक्टर नियुक्ति नगरेसम्म निर्वाचन हुन नसक्ने स्पष्ट पारेको छ। नेविसंघका अध्यक्ष राजीव ढुंगानाले भन्नुभयो– ‘हामी निर्वाचनमा जान तयार छौं तर निमित्त रेक्टर संयोजक भएर तोकेको निर्वाचन गर्न दिँदैनौं।’

उहाँले रेक्टर नियुक्ति गर्न नसक्ने सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले भन्नु्भयो– ‘संयोजक नै निमित्त भएपछि कसरी निर्वाचनमा सहभागी हुने ?’ अनेरास्ववियुका संयोजक ऐन महरले नेविसंघसँग छलफल गरेर निर्वाचन गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘फागुन १४ गते निर्वाचन गर्न सम्भव छैन, तर यो वर्ष निर्वाचन हुनैपर्छ।’ निर्वाचन गर्ने सर्तमा नेविसंघ तयार नभएर जसरी भए पनि निर्वाचन गराउन त्रिविलाई दबाब दिने उहाँको भनाइ छ।

संयोजक प्राडा. भुसालले विद्यार्थी संगठन तयार भएर आए निर्वाचन गर्ने विषयमा कुनै समस्या नरहेको बताउनुभयो। त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयले फागुन १४ गते निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशित गरिसकेको छ।

त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयले त्रिवि संगठन तथा प्रशासनसम्बन्धी नियम २०५० को उपनियम ३४८ को खण्ड (घ) बमोजिम २ वर्षे कार्यकाल रहने भएकाले निर्वाचन प्रकृया शुरू गर्न निर्देशन दिएको थियो।

त्रिवि कार्यकारी परिषद्को माघ २२ गतेको बैठकले फागुन १४ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। निर्वाचन गर्ने विषयमा त्रिविले उपत्यकाका सबै क्याम्पस प्रमुखसंग छलफल सम्पन्न गरिसकेको छ।

यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकोले अब फागुन १४ गते नै गर्नुपर्ने बाध्य भएको छ। त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र एक हजार सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको छ। त्रिविले त्यस बेला त्रिविले पहिलोपटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको थियो।