भीमशमशेरको लालमोहरमा तिकिंछा गुठी

0
Shares

काठमाडौं, (नेस)।

बालुवाटार जग्गा प्रकरणमा तिकिंछा गुठीको चर्चा धेरै भएको छ। गुठी संस्थानले १९६६ को लगत भिडाएर गुठी जग्गा दर्ता सहमतिका लागि पठाएको टिकिंछा गुठीको जग्गा १९८८ को लालमोहरमा पनि देखिएको छ।

तत्कालीन श्री ३ भीमशमशेरले १९६६ को लगतमै उल्लेख भएको गुठीको जग्गा खरिद गरेको देखिएपछि बालुवाटारभित्र गुठीको जग्गा रहेको पाइएको हो। १९६६ को लगतमा बालुवाटारमा तिकिंछा गुठीको ५ रोपनी जग्गा र कुत धान ६ मुरी ६ पाथी तथा नगदी १ रुपियाँ ११ पैसा उल्लेख छ। यसमा असयगाल खेतको मोही जितमान श्रेष्ठ उल्लेख छ।

१९८८ सालको लालमोहरमा पनि ‘श्री ५ को सरकारतर्फ टिकिंछा गुठीमा दर्ता भयाको असयगाल ५ रोपनीको हाल मोही जितमान श्रेष्ठको छोरा जुक्तमान श्रेष्ठ’ उल्लेख छ।

यसमा पनि कुत ६ मुरी ६ पाथी उल्लेख छ। गुठी संस्थानले गुठीको जग्गा आफ्नो नाममा दर्ता गराएन भन्नेबारे उच्च अदालतमा मेनुका भट्टराईले पेस गरेको फाइलमा पनि १९८८ को लालमोहरको डकुमेन्ट सामेल गरिएको छ।

उक्त रिट निवेदनउपर उच्च अदालतबाट गुठी संस्थानको नाममा परमादेशको आदेश पनि जारी भएको छ। १९८८ को लालमोहरमा भीमशमशेरले अन्य गुठीको जग्गा पनि किनेको देखिन्छ। यो लालमोहरमा भीमशमशेरले क्याम्प खडा गर्न टिकिंछा गुठीबाहेक बालुवाटारभित्र जैवागेश्वरी गुठीको ७ रोपनी ४ आना ३ पैसा ३ दाम, श्री ५ को सरकारतर्फ गुठीको १६ रोपनी २ पैसा २ दाम र श्री ३ सरकारतर्फ गुठीको १ रोपनी १२ आना किनेको देखिएको छ।

बालुवाटार जग्गा प्रकरणमा ठूला माछालाई जोगाउने र साना माछालाई समात्ने प्रपञ्च भइरहेको भनी सर्वत्र चर्चा भइरहेको बेला सीआईबी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूक्ष्म अनुसन्धान गरिरहेको छ।