सामाजिक सञ्जालबाट हुने विज्ञापनमा कडाइ

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

सामाजिक सञ्जालमा गरिने विज्ञापनमा हुने भुक्तानीप्रति नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ।सामाजिक सञ्जालबाट हुने विज्ञापनमा विदेशी मुद्रा अपचलन हुनसक्ने भएकाले त्यसलाई रोक्न राष्ट्र बैंकले आन्तरिक तयारी गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

नेपालमा फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जाल बढी प्रयोगमा छन्। अधिकांश व्यवसायीहरूले आफ्नो वस्तु तथा सेवाको विज्ञापन सामाजिक सञ्जालमार्फत् गर्दै आएका छन्।

सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्दा ठूलो मात्रामा विदेशी मुद्रा अपचलन हुनसक्ने भएकाले यसलाई व्यवस्थित गर्न लागिएको बताउँदै कार्यकारी निर्देशक मिश्रले भन्नुभयो– ‘विदेशी विनिमय मुद्रा अपचलन नहोस् भनेर कडाइ गर्न लागेका हौं, यसो गर्दा सबै पक्षलाई फाइदा हुन्छ।’

उहाँले विज्ञापनबाट हुने भुक्तानीलाई औपचारिक बनाउन राष्ट्र बैंक लागिपरेको बताउँदै यसमा सबैको साथ र सहयोगको खाँचो औंल्याउनुभयो।

केही व्यवसायीले यसमा अटेरी गरेको बताउँदै कार्यकारी निर्देशक मिश्रले यस्ता व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्ने मामलामा राष्ट्र बैंक सजग रहेको स्पष्ट पार्नुभयो।

विदेशी मुद्रा अपचलन हुन नदिन तथा सम्पत्ति शुद्धीकरणका लागि राष्ट्र बैंकले पछिल्लो समयमा विभिन्न कार्यविधि ल्याएको छ। उक्त बैंकले सम्पत्ति शुद्धीकरणका लागि माघ १ गतेदेखि सबै बैंकमा गो–एन्टी मनी लाउन्ड्रिङ (गो–एएमएल) अनिवार्य गराएको छ।

प्रविधिको बढ्दो प्रयोगसँगै हुनसक्ने वित्तीय अपचलन रोक्न राष्ट्र बैंकले काम गर्दैआएको हो। कार्यकारी निर्देशक मिश्रका अनुसार, पछिल्लो निर्देशन पनि त्यसैको उपज हो।

उहाँले व्यवसायीसँग यसलाई व्यवस्थित कसरी बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताउनुभयो।‘भुक्तानीको मापदण्ड कस्तो बनाउने, कति कारोबार गर्नसक्नेलगायतका विषयमा व्यवसायीसँग छलफल चलिरहेको छ।’ –उहाँले भन्नुभयो। उहाँले अबको दुई हप्ताभित्र यसबारे निष्कर्ष निस्कने भएकाले कानुनअनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो।

राष्ट्र बैंकका अनुसार सामाजिक सञ्जालमा विज्ञापन गरी आर्जन गरिने विदेशी मुद्रा गैरकानुनी भए विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाही हुनेछ।