प्राविधिक समस्याले आयोवामा राष्ट्रपतिको नतिजा सार्वजनिक हुन सकेन


आयोवा ।

अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको राष्ट्रपति चयनको प्रारम्भिक चुनावी नतिजा सार्वजनिक कार्यक्रम प्राविधिक समस्याका कारण स्थगन भएको छ ।

आयोवा डेमोक्र्याटिक पार्टीले मंगलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ। पार्टीले मतपत्र मार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ ।

पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको बताए। नयाँ मोबाइल एपमा समस्या रहेको पार्टीका समर्थकहरूले पहिल्यै औंल्याएका थिए। पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ।

डेस मोइन्स काउन्टीका डेमोक्र्याटिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताले गुनासो गरेको बताए। समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिइएको समाचारहरूमा जनाइएको छ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीगसमेतका वरिष्ट नेता आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहेका छन्।

मोबाइल एपको रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरू निराश भएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरूले डेमोक्र्याटिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यंग गरेका छन्।
एजेन्सी