नाका बन्द भएपछि १४ नेपाली चीनको चाँगामै

0
Shares

खाँदबारी। 

सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो ।

सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताउनुभयो । उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ ।

“चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ ।