पानीको गुणस्तर नाप्न ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा

0
Shares

रत्ननगर।

क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

युनेसेफ र खानेपानी विभागको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्रनारायण देवले जानकारी दिनुभयो । पानी परीक्षण गर्न आवश्यक उपकरण भएको एम्बुलेन्सलाई करीब रु ५० लाख परेको उहाँले बताउनुभयो ।

असोज महिनादेखि कार्यालयले पानी परीक्षणका लागि घुम्ती सेवा शुरु थियो । अहिलेसम्म धादिङ, मकवानपुर, माडी, खैरहनीलगायत स्थानमा लगेर स्थलगत रुपमा पानीको परीक्षण गरिएको देवले बताउनुभयो । महामारी हुँदा प्रभावित क्षेत्रहरुमा लगेर पानीको परीक्षण गर्न यस एम्बुलेन्सले सहयोग पुग्ने उहाँको विश्वास छ ।

“विशेषगरी दैवी प्रकोपका घटनाको समयमा पानीको स्थलगत परीक्षण गरी गुणस्तर कायम राख्नका लागि सहयोग पुने देखिन्छ”, उहाँले भन्नुभयो, “कसैले पानी परीक्षण गर्न आउनुप¥यो भनेको खण्डमा हामीले तुरुन्तै गएर पानीको परीक्षण गर्न सक्छौँ ।”

वाटर एम्बुलेन्स आएपछि टाढा टाढा गएर पानीको परीक्षण गर्न सहज भएको उहाँले बताउनुभयो । स्थलगत पानी परीक्षण गरेपछि तत्कालै पिएच, पारा, इसी, एफआरसीलगायत छवटा पानीका पारामितिहरुको नतिजा दिने गरिन्छ ।

यस्तै अन्य पारामितिहरुको नतिजा चौबिस घण्टाभित्र दिने गरिएको देवले जानकारी दिनुभयो । घुम्ती सेवाका लागि एकजना केमिष्ट र चालक खटिने गरेका छन् ।