बेसहारा–सडक मानवलाई व्यवस्थापन गर्ने महायज्ञलाई सफल बनाउनु सबैको दायित्वः मन्त्री बराल


यमलाल भुसाल, बुटवल ।

मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि गर्न लागिएको ज्ञान विज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गदै बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने उद्देश्यले आयोजित महायज्ञलाई सफल बनाउनु सबैको दायित्व भएको बताउनु भयो ।

महायज्ञले प्रदेश सरकारले प्रदेश ५ लाई सडक मानवमुक्त प्रदेश बनाउन लिएको लक्ष्य पुरा गर्न सहयोग पुर्याउने भएकाले रुपन्देहीवासी मात्र नभई प्रदेशबासी सबैले सक्दो दान गरेर महायज्ञ सफल बनाउन मन्त्री बरालले आग्रह गर्नु भयो ।

रुपन्देही र प्रदेश ५ मा दानवीरहरुको कमी नभएको औंल्याउंदै मन्त्री बरालले बेसाहारा र अशक्तलाई राखेर पालनपोषण गर्ने पवित्र उद्देश्यले आयोजित महायज्ञमा फराकिलो छाती बनाएर पुण्य आर्जन गर्न आग्रह गर्नु भयो । मन्त्री बरालले बुटवल र नेपालगंञ्ज सडक मानव मुक्त भैसकेकाले अन्य सबै पालिकाहरुलाई पनि सडक मानव मुक्त बनाउन सबैको साथ चाहिने बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मानव सेवा आश्रमले राज्यले गर्नुपर्ने काम गरेको र यसमा बुटवल उपमहानगरले साथ दिएको भन्दै महायज्ञ सफल बनाउन पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले मानव सेवा जस्तो पुण्य कर्म अरु नभएको भन्दै मानव सेवा आश्रमको महायज्ञमा उपस्थित हुन आग्रह गर्नु भयो । महायज्ञ आयोजक मूल समितिका संयोजक लोकनाथ भुसालले मानव सेवा आश्रमको चार तले भवन बनाउन ११ करोड रुपैयां लागत अनुमान गरिएको र आर्थिक स्रोत नभएकाले महायज्ञ आयोजना गरिएको बताउंदै सबैको सहयोगको रहने व्रिवास व्यक्त गर्नु भयोे ।

भवनमा दुई सय जना बेसहारा व्यक्तिलाई राख्ने गरी भवनको डिजाइन गरिएको उनले बताउनु भयो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले प्रदेश ५ मा एक सय ३० जनासहित देशभरका ११ सय जना बेसहारा सडक मानवलाई आश्रय दिइरहेको बताउंदै उनीहरुको दीगो व्यवस्थापनका लागि भवन बनाउन महायज्ञ गर्नुपरेको बताउनु भयो ।

यहायज्ञ शुरु हुनु अघि महायज्ञस्थलबाट दर्जनौं संघसंस्थाको सहभागितामा शोभा कलश यात्रा (मानवता प्रवद्र्धन यात्रा) निकालिएको थियो ।