जंगलमै पुगेर चिकित्सकले गरे दुई सय भेडाको उपचार



नरेन्द्र केसी, दाङ

रुकुम भूमे गाउँपालिका–११ लुकुमबाट चरणका लागि दाङ ल्याइएका साढे दुई सय भेडा मरेपछि जंगलमै पुगेर उपचार थालिएको छ। उपचार शुरु भएसँगै रोग नियन्त्रणमा आउन थालेको छ।

गएको पुस २९ गते रोल्पा हुँदै घोराही उपमहानगरपालिका–१९ सैघाको पाँचपोखरीमा ल्याइएका भेडाहरू मर्ने क्रम बढेपछि थालिएको उपचारले नियन्त्रणउन्मुख हुँदै गएको हो।

चिसो छल्न र चराउन रुकुमको भुमे गाउँपालिका १ लुकुमबाट ल्याइएका मध्ये रोल्पादेखि दाङको सैघासम्म १ सय १० वटा र रोल्पाको सातदोबाटोमै १ सय २० वटा भेडाहरू मरेको भेडापालक किसान पिलम पुनले जानकारी दिनुभयो।

झोक्राउने, उच्च ज्वारो आउने र पातलो दिसा गर्ने लक्षणपश्चात भेडाहरू धमाधम मर्ने गरेका थिए। यसैक्रममा शुक्रबार पशु स्वास्थ्य प्राविधिकको टोलीले उपचार गरेका थिए।

आइतबार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसी र घोराही उपमहानगरको पशु सेवा शाखाका प्रमुख जीवराज पौडेलको नेतृत्वमा गएको प्राविधिक टोलीले झण्डै २ सय भेडाहरूको वनमै उपचार गरेको छ।

भेडालाई एन्टिबाइटिक औषधिको खोप र ज्वरो तथा एलर्जी नियन्त्रण गर्ने खोप दिइएको छ। उपचारमा डा. बेदबहादुर केसी, जीवराज पौडेल, गोविन्द नेपाली, महेन्द्रप्रसाद चौधरी, ननसरा पुन र दिपिका बुढासहितको पशु स्वास्थ्य प्राविधिक टोलीले उपचार गरेको हो।

वडा नम्बर १९ का सदस्य जंग रोकासमेत पशु स्वास्थ्य प्राविधिकसहितको टोलीमा पाँच पोखरी पुगेर उपचार र व्यवस्थापनमा सहजिकरण गर्नुभएको छ। रामकृष्ण पुन, पिलम पुन, धर्मकुमारी पुन र धर्म बुढाले झण्डै ५ सय भेडाबाख्रा दाङमा ल्याउनुभएको छ।

भेडाको रगत, कचेरासमेत जाँचका लागि ल्याइएको छ भने आन्द्रा जाँचका लागि समेत भेटेनरी अस्पतालले मरेका भेडा कार्यालयमा ल्याएको छ। यस अघि जाँचका लागि नमूना क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको छ।

केन्द्रका प्रमुख डा. केसीका अनुसार पाचन प्रणाली र स्वास्वप्रस्वासमा समस्या देखिएको पाइएको छ। पोस्टमार्टम गर्दा फोक्सो र ठूलो आन्द्रामा घाउ भेटिएको छ। विज्ञ केन्द्रका प्रमुख केसीले चिसो कारण पनि यस्तो समस्या आउने र यो सरुवा रोग भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्