विश्वकै अग्लो बन्जिजम्पको सफल परीक्षण

188
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत।

पर्वतको कुस्मा बजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बन्जिजम्पको सफल परीक्षण भएको छ। पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बन्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षण गरिएको हो।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बन्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका छन्। बन्जीका सञ्चालक राजु कार्कीले बन्जी गरेर शुभारम्भ गर्नुभएको थियो।

बञ्जी जम्प बढी उचाईका कारण बढी रोमाञ्च भएको कार्कीले बताउनुभयो। भोटेकोशी बन्जीजम्पमा लामो समय काम गर्नुभएका कार्कीले उचाइ बढी र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा बन्जी गर्नुको बेग्दै आनन्द प्राप्त भएको अनुभव सुनाउनुभयो। कम्पनीले व्यवसायिक रुपमा बन्जीजम्प खेलाउने काम भने नयाँ वर्षबाट गर्ने भएको छ।

‘केही कामहरू बाँकी रहेका कारण व्यवसायिक रुपमा जम्प गराउने काम नयाँ वर्षबाट मात्रै गर्छौं।’ सञ्चालक कार्कीले भन्नुभयो।
प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बन्जीजम्प भएको दाबी सञ्चालकको छ।

मकाउमा दुई वटा घरका बीचमा गरिने बञ्जिलाई बिश्वकै अग्लो मानिएको छ। कालीगण्डकीमाथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो।

यो पुलमा बनेको सबैभन्दा अग्लो बन्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिस (स्विस), विश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने (स्काई साइक्लिङ) सञ्चालन गरिँदै छ। कालीगण्डकी पारी बलेवामा सुविधा सम्पन्न रिर्सोट निर्माणको काम भइरहेको छ।

बन्जीजम्पमा आउने पर्यटकहरूलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ रिसोर्ट संचालनका लागि संरचना निर्माण काम भइरहेको छ। रिर्सोटमा सबै जसो कोठाहरू टेन्टबाट बनाइँदै छ।

टेन्टबाट सबै बाहिरी दृश्य देखिने गरी निर्माण भइरहेको छ। १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेन्ट बनाइएको छ। जसमा ६० जनासम्म पर्यटक बस्न सक्छन्, खुल्ला चौरमा वस्नका लागि टेण्टहरू राख्ने र त्यसरी ३ सय जनासम्म राख्न सकिने कार्कीको भनाइ छ।

करिब २० करोडमा रिर्सोटसहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताउनुभयो। साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरी बनाइएको बन्जिजम्प पर्वतको चिनारी हुने विश्वास लिइएको छ।