नेकपा केन्द्रीय समिति बैठक

शीर्ष नेता निवासमा, केन्द्रीय सदस्य छलफलमा

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक बिहीबार भिन्न किसिमले चल्यो– शीर्ष नेताहरू आफ्नै निवासमा बसेर सम्भावित प्रश्नको जबाफको तयारीमा लाग्नुभयो भने सदस्यहरू बैठक कक्षमै छलफलमा जुट्नुभयो।

सदस्यहरू अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफलमा जुट्नुभएको हो।

केन्द्रीय सदस्यको संख्या ठूलो भएकाले बैठकमा सबैले बोल्न सम्भव नभएपछि समूह बनाएर त्यसको नेताले बैठकमा रिपोटिङ गर्ने गरी छलफल अघि बढाएको हो।

१५ वटा समूहअन्तर्गत १ देखि ८ सम्मका समूहले राष्ट्रियसभा गृहमा, ९ देखि ११ नम्बर समूह तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा र १२ देखि १५ नम्बर समूह पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन्।

१ नम्बर समूहको नेतामा उर्मिला अर्याल र आनन्द पोखरेल, २ नम्बर समूहको नेतामा कमला रोका, ३ नम्बर समूहको नेतामा खिमलाल भट्टराई, ४ नम्बर समूहको नेतामा जगन्नाथ खतिवडा, ५ नम्बर समूहको नेतामा ठाकुर गैरे, ६ नम्बर समूहको नेतामा दीनानाथ शर्मा, ७ नम्बर समूहको नेतामा पूर्णकुमारी सुवेदी, ८ नम्बर समूहको नेतामा बिन्दा पाण्डे, ९ नम्बर समूहको नेतामा भगवती चौधरी, १० नम्बर समूहको नेताहरूमा युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी रहनुभएको छ।

त्यसैगरी ११ नम्बर समूहको नेतामा राजेन्द्र राई, १२ नम्बर समूहको नेतामा रेणु दाहाल, १३ नम्बर समूहको नेतामा लेखनाथ न्यौपाने, १४ नम्बर समूहको नेतामा राम कार्की र १५ नम्बर समूहको नेतामा हिमाल शर्मा रहनुभएको छ।

हरेक समूहमा २९ केन्द्रीय सदस्य रहेका छन्।बिहीबार समूहगत छलफलपछि शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समूहका नेताहरूले बैठकसमक्ष राख्ने कार्यक्रम रहेको छ। बैठकमा तय भएको नौ बुँदे कार्यविधिअनुसार एक केन्द्रीय सदस्यले विचार राख्नका लागि १० मिनेटको समय पाउनेछन्।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले समूहगत छलफलमा सरकारको प्रभावकारिता, पार्टीको सुदृढीकरण र विधिको समान पालनासहित एकताबद्ध भएर अघि बढनुपर्ने सुझाव आएको बताउनुभयो। उहाँले देशको भविष्यसँग जोडिएको मुद्दामा सचेत रूपमा अगाडि बढनुपर्ने विषयमा केन्द्रीय सदस्यहरूको समान धारणा आएको बताउनुभयो।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दिनभर प्रधानमन्त्री निवास बालुवाटारमै रहनुभयो। उहाँले केही भेटघाटबाहेक दिनभर सम्भावित प्रश्नको जवाफको तयारी गरेको बताइएको छ।

त्यसैगरी पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि दिनभर आफ्नै निवास खुमलटारमा रहेर अध्ययनमा जुट्नुभएको छ। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्ष प्रचण्ड अध्ययन र लेखनमा जुट्नु भएको जानकारी दिनुभयो।

त्यसैगरी वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा वादलले पनि बैठकमा केन्द्रीय सदस्यहरूले उठाउने सम्भावित प्रश्नको जवाफको तयारी गरिरहनुभएको छ।

केन्द्रीय सदस्यको प्रश्न : पार्टीको बैठकमा सुरक्षाकर्मी किन ?

नेपाल कम्युनिस्ट पार्टीको बैठकमा माक्र्स लेलिनको फोटो हटाउनेदेखि बैठकस्थलमा सुरक्षाकर्मी राख्ने विषयलाई लिएर नेतृत्वको विरोध शुरू भएको छ। पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरू मात्र रहनुपर्ने भए पनि बैठक अवधिभर सुरक्षाकर्मी बसेपछि केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन्।

पार्टीको सचिवालय र स्थायी समिति बैठकमा सुरक्षाकर्मीले प्र्रवेश गर्न पाउँदैनन्। तर पार्टी एकता भएको २१ महिनापछि बसेको केन्द्रीय समितिको बैठकमा ब्यानरमा माक्र्स, लेलिनको फोटो हटाएर दायाँबायाँ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राखिएको छ।

जुन फोटोप्रति पनि केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन्। पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बैठकस्थलमा रहेसँगै दायाँबायाँ बुधबार दिनभर बैठकस्थलमा सुरक्षाकर्मीले पहरा दिएका थिए।

विगतमा बैठकस्थलमा नेताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरू बैठकस्थलबाट बाहिर बस्ने गरे पनि यसपटक नेकपाको केन्द्रीय समिति बैठकमा भने सुरक्षाकर्मीको उपस्थिति बाक्लै देखियो।

सरकारले विशिष्ट व्यक्तिहरूका लागि सुरक्षाकर्मी खटाउने गरेको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आयोजकहरूसँग समन्वय गरेर मात्र बैठकस्थलमा सुरक्षाकर्मी खटाउने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘कार्यक्रम आयोजकहरूसँग सुरक्षाको बोरमा समन्वय गर्छौं, आयोजकहरूले बन्द सत्रमा नआइदिनुहोस् भन्नुभयो भने सुरक्षाकर्मी जादैन।’ विशिष्ट व्यक्तिहरूको लागि सुरक्षाकर्मी खटिने गरेको बताउँदै प्रवक्ता क्षेत्रीले सुरक्षाको अवस्था विश्लेषण गरेर सभा सम्मेलन र बैठकमा सुरक्षाकर्मी खटिने बताउनुभयो।

पार्टीभित्रको गोपनीयता हराउँदै गएको, अनुशासनहीनता बढ्दै गएको बताउँदै महासचिव विष्णु पौडेलले पार्टीको बैठकको बारेमा प्रत्यक्ष प्रसारण गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ।