कला, संस्कृति र पर्यटनमा गण्डकी प्रदेश धनीः मुख्यमन्त्री गुरुङ


प्रताप बानियाँ, म्याग्दी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कला, संस्कृति र पर्यटनले गण्डकी प्रदेश अन्य प्रदेशहरुको तुलनामा धनी रहेको बताएका छन् । ‘खेलकुद, जलविद्युत र पर्यटन पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार’ भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७६ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा ठूल्ठूला तालतलैया, झरना, माटोको शहर, अन्धगल्छी, शालिग्राम पाइने पवित्र कालीगण्डकी नदी, सबैभन्दा धेरै उचाइमा रहेको तिलिचो ताल, थोरङ्लापास भन्ज्याङलगायत थुप्रै पर्यटकीय गन्तव्यहरु रहेको बताए । उनले गण्डकी प्रदेशमा विभिन्न जातजातिहरुको बसोबास रहेको बताउँदै कला, संस्कृति र भेषभूषामा पनि गण्डकी प्रदेश अब्बल रहेको बताएका छन् ।

मेला महोत्सवले स्थानीय कला, संस्कृति र कृषि उत्पादनको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारमार्फत पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा जोड दिएको बताए । उनले पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेशभित्र रहेका ३ सयवटा गाउँलाई होमस्टे गाउँ बनाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले जडिबुटी, पर्यटन, कृषि र जलविद्युतले अन्नपूर्ण गाउँपालिका सम्भावनायुक्त रहेको भन्दै प्रदेश र सङ्घीय सरकारबाट पर्याप्त बजेट विनियोजन गरिएको बताए । गण्डकी प्रदेशका सदस्य विनोद केसीले प्रदेश सरकारको सहयोगमा अन्नपूर्ण गाउँपालिकामा सडक विस्तार तथा स्तरोन्नतिलाई जोड दिइएको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधि खड्ग गिरी, नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, टान पोखराका अध्यक्ष हरि भूजेल र स्थानीय तेजबहादुर गुरुङले मन्तव्य राखेका थिए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजाको अध्यक्षता, उपाध्यक्ष केशमाया मगरको स्वागत र प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवक्ता कृष्णप्रसाद बरुवालले महोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा विभिन्न जातजातिहरुले आ–आफ्नो भेषभूषासहित झाँकी प्रस्तुत गर्नुका साथै प्रभातफेरी र्याली प्रदर्शन गरेका थिएभने विद्यार्थी र अन्य कलाकारहरुले नृत्य देखाएका थिए । नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको बताइएको छ । अन्नपूर्ण गाउँपालिकासहित म्याग्दीमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका साथै कला, संस्कृतिको संरक्षण र कृषि उपजको प्रवद्र्धन गर्न अन्नपूर्ण–४, नारच्याङमा महोत्सव आयोजना गरिएको हो ।