नेकपाको महाधिवेशन १३ महिनापछि

देशव्यापी अभियान चलाउने, भारत र चीनसँग समदूरी सम्बन्ध

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीको एकता महाधिवेशन १३ महिनापछि २०७७ चैतमा हुने भएको छ। केन्द्रीय समितिको बैठकको पहिलो दिन बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको संयुक्त प्रतिवेदनमा सो प्रस्ताव गरिएको छ।

उहाँहरूको प्रस्तावअनुसार २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने छ। पार्टी एकीकरण भएको २१ महिनापछि दोस्रो पटक बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेस गरिएको छ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा २०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश कमिटीको अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन हुने उल्लेख गरिएको छ।

बैठकमा आमन्त्रित स्थायी समिति सदस्यसहित ४ सय ४७ सदस्यको सहभागिता रहेको छ। केन्द्रीय समितिको संख्या जम्बो भएकाले सबैले बोल्न सम्भव नहुने निष्कर्ष निकाल्दै पार्टीले सहभागी केन्द्रीय सदस्यहरूलाई १५ समूहमा विभाजन गर्दै एउटा समूहमा २९ नेता रहने गरी समूह बनाएको छ।

समूहले राष्ट्रिय सभा, पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा समूहगतरूपमा राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर बैठकमा पेस गर्नेछ।केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताउनुभयो।

उहाँले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताउँदै सरकारले युगान्तकारी काम गरिरहेको बताउनुभयो।आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकमा समेत सुधार भएको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिदर यो वर्ष ६ दशमलव ५ प्रतिशतभन्दा माथि रहेको तथा धानदेखि गहुँको उत्पादनसमेत बढेको बताउनुभयो।

उहाँले नेकपा र सरकारविरुद्ध एकोहोरो प्रचारयुद्ध छेडिएको भन्दै तथ्यहरूले सरकारविरोधी प्रचार निष्प्रभावी बनेको बताउनुभयो।‘सरकारका कतिपय कमी–कमजोरी पनि भएका हुन सक्छन्, अपेक्षाअनुसार काम नभएको हुनसक्छ।

हामी सन्तोष गरेर बस्न सक्ने अवस्थामा छैनौं, तर काम असाधारण भएका छन्।’ –उहाँले भन्नुभयो। प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य राखेपछि अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो।

प्रचण्डले दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेस गर्नुभयो। केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा २९ जनाको टोली बनाएर बिहीबारदेखि शुरू हुनेछ भने समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन्।

समूहले नेता बनाएपछि छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्। केन्द्रीय समिति बैठकका लागि पाँच दिनसम्म राष्ट्रियसभा गृहको हल बुकिङ छ। रिपोर्टिङ सकिएपछि दुई अध्यक्ष र महासचिवले जवाफ दिने कार्यक्रम रहेको छ।

नेकपाले केन्द्रीय समिति बैठक सम्पन्न भएसँगै देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने भएको छ।अध्यक्षद्वयले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा अभियानको मूल नारा ‘समृद्ध नेपाल सुखी नेपाली’को आधार ‘सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ तय गरिएको छ।

अभियानअन्तर्गत २०७६ फागुन १ देखि १५ सम्म प्रदेश जिल्ला र स्थानीय कमिटीहरूले बैठक बसी अभियानको कार्ययोजना बनाउनुपर्नेछ। त्यस्तै फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरू केन्द्र, जिल्ला र पालिका तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

राजनीतिक प्रतिवेदनमा अमेरिकाले हिन्द महासागर वरिपरिको शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्न सैन्य रणनीतिका रूपमा इन्डो प्यासिफिक रणनीति अघि बढाइरहेको उल्लेख गरिएको छ। तर, नेकपाले राजनीतिक प्रतिवेदनमार्फत हाल बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डो–प्यासिफिक रणनीति नभएको दाबी गरेको छ।

प्रतिवेदनमा नेकपा र नेकपा नेतृत्वको सरकार कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेको छ।

प्रतिवेदनमा अगाडि भनिएको छ– ‘चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुवै छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कूटनीतिमा अगाडि बढ्नु र मुख्यरूपमा देशको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अघि बढ्नु नै आजको आवश्यकता हो।’

माक्र्स र लेलिन हटे, पुष्पलाल र मदन समेटिए

नेकपाको केन्द्रीय कमिटीको बैठकमा ब्यानर विवाद उब्जिएको छ। बैठकमा राखिएको ब्यानरमा कार्ल माक्र्स र लेनिनको फोटो हटाउँदै पुष्पलाल र मदन भण्डारीको फोटो टाँगिएपछि विवाद देखिएको हो।

एक सहभागी सदस्यले नेपाल समाचारपत्रलाई भने– ‘कम्युनिस्ट पार्टीहरूले साम्यवादी आन्दोलनका पथप्रदर्शक नेताहरूको फोटो अनिवार्य प्रयोगमा ल्याउने प्रचलन रहेको छ।’‘कम्युनिस्टहरूले प्रत्येक कार्यक्रमको शुरुआतमा कार्ल माक्र्स, लेनिन, माओ र स्टालिनलगायतका नेताहरूको सम्झना गर्दछन्।

तर सत्तारूढ दल नेकपाको कार्यक्रमस्थलबाट पथप्रदर्शक नेताहरूको फोटो हटाइएको छ।’ –उनले भने। तर, केही सहभागीहरूले नेपाली नेताहरूलाई नै आदर्श मानेर ब्यानर राखिएकामा स्वागत गरेको पनि सुनियो।

सभागृहको भाडा साढे ४ लाख

नेपाल कम्युनिस्ट पार्टीले पार्टी कार्यालय साँघुरो भएपछि केन्द्रीय समितिको बैठक राजधानीस्थित राष्ट्रिय सभागृहमा सञ्चालन गरेको छ। नेकपाले माघ १५ देखि २० गतेसम्मका लागि सभाहल बुकिङ गरेको छ।

पाँच दिनमा मुख्य हलको भाडा मात्र नेकपाले साढे चार लाख दिनुपर्ने भएको छ।राष्ट्रिय सभा गृहका प्रमुख सञ्जुमा महर्जनले नेकपाले बैठक सञ्चालन गर्नका लागि पाँच दिन सभाहल बुकिङ गरेको बताउनुभयो।

उहाँले नेपाल समचारपत्रसँग भन्नुभयो– ‘दुई सिफ्टमा भाडा निर्धारण गरेका छौं।’ उहाँका अनुसार बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मका लागि ८० हजार, दिउँसोको २ बजेदेखि राति १० बजेसम्मका लागि ९० हजार भाडा निर्धारण गरिएको छ