कुरीतिविरुद्ध स्थानीयको सक्रियता : दुई हप्तामै भत्काइए २१० छाउगोठ

0
Shares

विमल विष्ट, डोटी।

अन्धविश्वास र कुरीतिका रूपमा रहेको छाउपडीलाई जरैदेखि उखेल्न छाउगोठ भत्काउने अभियानले निरन्तरता पाएको छ। पुस २६ गतेदेखि प्रशासनले शुरू गरेको छाउगोठ भत्काउने अभियानमा अहिले स्थानीयले साथ दिएका छन्।

यो अभियानअन्तर्गत अहिलेसम्म २ सय १० बढी छाउपडी गोठ भत्काइएका छन्। जिल्लामा छाउगोठ बनाउने तथा महिनावारी भएकी महिला छाउगोठमा राख्नेलाई स्थानीय प्रशासनले कारबाही गर्ने बताएपछि डर र कर दुवैले गर्दा अभियानले सार्थकता पाउँदै आएको छ। स्थानीयमा चेतनास्तर वृद्धि भएकाले पनि आफै छाउगोठ भत्काउने अभियानमा सक्रियरूपमा लागेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले अहिलेसम्म २ सय १० छाउगोठ भत्काइएको जानकारी दिनुभयो। उहाँले बडीकेदार गाउँपालिकाका ९५, जोरायल गाउँपालिकाका ३, पूर्वीचौकी गाउँपालिकाका ३७ तथा बोगटान गाउँपालिकाका ८० गरी कुल २ सय १० वटा छाउगोठ भत्काइएको बताउनुभयो।

जिल्लाका नौ स्थानीय तहमा प्रहरी तथा र जनप्रतिनिधिको सक्रियतामा छाउगोठ भत्काउने क्रम जारी रहेको छ। प्रहरीले छाउगोठ भए नभएको बारेमा अनुगमनसहित छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको छ। गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छाउगोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देउबाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘प्रहरीले आफैं छाउगोठ खोज्दै हिँडेको छ, छाउगोठ देख्नेबित्तिकै भत्काउन आदेश दिएको छु, हिजोआज पनि धमाधम भत्काउँदै छौं।’ प्रहरीले सञ्चालन गरेको उक्त अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाको सहभागिता रहँदै आएको छ।

छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्न स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘छाउगोठ कहाँकहाँ कति छन् गोप्य रुपमा सूचना लिएर त्यसैका आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ।’

जिल्लालाई आगामी फागुन महिनाभित्र छाउगोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउगोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रूपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

छाउपडी गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सम्पूर्ण सेवासुविधाबाट वञ्चित गर्ने र कानुनअनुसार कारबाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शिर निहुरिने गरेको छ, छाउपडी गोठ बनाउनेविरुद्ध सशक्त रुपमा उत्रिनेछौँ।’

आफ्नो गाउँपालिकामा छाउपडी अन्त्य गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो।

जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछ भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृत तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाई पत्राचारसमेत गरेको छ। जिल्लामा कम्तीमा पनि ३ सयभन्दा बढीको हाराहारीमा छाउगोठ हुन सक्ने सो क्षेत्रमा काम गर्ने संघसंस्थाको अनुमान रहेको छ।