साइपालमा खाद्यान्न अभाव

0
Shares

ललित सिंह, बझाङ।

पटकपटकको हिमपातले बाटो अवरुद्ध हँुदा साइपाल गाउँपालिकाको जिल्ला सदरमुकामसँग सम्पर्क नै विच्छेद भएको छ। सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा रहेको सो गाउँपालिकाको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। हिमपातले साइपालमा धेरै समस्या निम्त्याएको स्थानीयले बताएका छन्।

सामान्यतया हिमाली क्षेत्रमा हिमपात हुँदा बालीनाली राम्रो हुने भएकाले खुसी हुनुपर्नेमा पटकपटकको हिमपातले दुःखी बनाएको छ। हिमपातले बाटो अवरुद्ध भएपछि साइपालका स्थानीय सदरमुकाम आउनजान वञ्चित भएका छन्। त्यहाँ जाने खच्चड, भेडाहरू पनि हिमपातले बाटो अवरुद्ध हुँदा रूपातोला र तलकोटबाट माथि जान सकेका छैनन्।

साइपालको केन्द्र रहेको काँडा गाउँमा माथिल्लो बस्ती धुलीबाट मानिसहरू आउन सकिएको छैनन् भने धलौन गाउँबाट काँडामा जान नसक्दा पालिकाको केन्द्रसँग पनि आवतजावत बन्द भएको छ।

सदरमुकाम चैनपुरमा भेटिएका राजु रोकायले दुई सातादेखि बाटोमा धेरै हिउँ भएको खबर हुँदा आफू दुई सातादेखि चैनपुरमै बसेको बताउनुभयो। रोकायसँगै सदरमुकाम आएकाहरू बीचमा एक दुई दिन मौसम सुधार हुँदा गाउँतिर हिँडे पनि धुली, काँडाका स्थानीय भने सदरमुकामै चैनपुरमै रोकिएका छन्।

लामो समयको झरीसँगै भारी हिमपातले तलकोट गाउँपालिकाको खौलादेखि साइपाल गाउँपालिका जाने बाटो कुवा, जाडलेक, धलौन, लाग्ना, काकरकोट, काँडा, काया, बलौडी, धुलीसहित सेतीपारि न्युनामा पनि ४/५ फिटको हिउँ परेको हुँदा १५/२० दिनदेखि मान्छेको आवतजावत बन्द भएको स्थानीय महिमान तामाङले बताउनुभयो।

रुपातोला र खौलाबाट साइपालका लागि खाद्यान्न सामग्री लिएर हिँड्ने खच्चरहरू पनि दुई सातादेखि माथिल्लो भेगमा जान सकेका छैनन्। मानिसहरूको आवतजावत बन्द र भेडा खच्चरले खाद्यान्न सामग्री ढुवानी गर्न नसकेपछि साइपालमो खाद्यान्न अभाव भएको छ।

खाद्यान्न र अन्य सामानको अभाव भएपछि प्रतिकेजी मोटो चामलको १ सय ८० रुपियाँ र एक पोका तेलको ३ सय रुपियाँ तिर्न बाध्य भएका छन् भने सामान नपाइने समस्याले थप सास्ती खेप्नुपरेको एक स्थानीयले बताए।

गत महिना ढुवानी भएको खाद्यान्न सकिएको र साइपाल गाउँपालिकाका व्यापारीहरूसँग चामल स्टक नभएकाले भोकमरीको सम्भावना बढेको छ।साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भारी हिमपातले बाटोघाटो बन्द भएर जनजीवनमा समेत साहै्र समस्या परेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दुईचार दिन घाम लाग्दा धलौनसम्म खच्चर पुगेका थिए, फेरि हिउँदे झरी र हिमपातले बाटो अवरुद्ध भएको छ।’ लामो समय बाटो अवरुद्ध भएर खच्चर चल्न नसक्दा साइपालमा खाद्यान्न अभाव भएको उहाँले जानकारी दिनुभयो।

गाउँपालिका कार्यालयसम्म जाने बाटोसमेत हिउँ परेर जान नसक्दा गाउँपालिका अध्यक्षसहित अन्य कर्मचारी सदरमुकाममै रोकिएका छन्। दुई नगरपालिका र १० गाउँपालिका रहेको बझाङ तिब्बतसँग जोडिएको जिल्लाको दुर्गम साइपाल गाउँपालिका मात्र सडक सञ्जालसँग जोडिएको छैन्।

त्यहाँ यातायात नपुग्दा तथा अन्य भौगोलिक विकटताले टेलिफोन सेवा साथै अन्य सेवासुविधा समेत छैन। यसपालिको लामो समय झरीसँगै आएको हिउँपातले साइपाल गाउँपालिका जस्तै दाँतोला क्षेत्र, रिलु, सुर्मा, भामचौर, दहबगर, गडरायको गोर्खाली क्षेत्रका गाउँबस्तीमा जनजीवन कष्टकर नै रहेको छ।