न्यासुरको पीडा सुन्ने सरकार छैन



कृष्णउदास खनाल, वीरगन्ज। 

२०५३ सालतिर गढीको शिखरकटेरीका जयबहादुर न्यासुरको घरमा नयाँ मान्छेहरू आउने जानेक्रम देखिन्थ्यो। गाउँमा ठ्ूलाहरूको दबदबा थियो।

उनी त्यही सामन्तीको हेपाइबाट आजित थिए। अन्ततः उनी सामन्त र शोषकको अन्त्य माओवादीले गर्छ भन्दै तत्कालीन विद्रोही माओवादीमा प्रवेश गरे।

माओवादी बन्न त्यत्तिबेला सजिलो थिएन। उनी गरिब र दुःखीका मुक्तिका लागि भन्दै पार्टी प्रवेश गरेका थिए। २०६१ साल चैत २७ गतेको दिन थियो । माओवादीले लामो आम हड्तालको आ≈वान गरेको थियो।

आमहड्तालका बीचमा पनि सवारी साधन चल्न थालेपछि माओवादीको केन्द्रीय कमिटीले न्यासुर अथवा जेबी न्यासुरलाई सवारी साधन ठप्प हुने गरी गतिविधि गर्न निर्देशन दियो।

त्यही दिन बिहानको समय थियो। एक यात्रुवाहक ट्याम्पो हेटौंडाको औधोगिक क्षेत्रनजिकको सडकमा गुड्दै थियो।
न्यासुरसहितको पाँचजनाको टोली थियो,त्यहाँ। उनी कमान्डर थिए।

उनले बम ट्म्पोमाथि प्रहार गर्न आदेश दिए तर उनका साथीले बम ट्याम्पोमा नभई सडकमा फाले अनि न्यासुर आफैंले भुइँमा खसेको बम पुनः गुड्दै गरेको ट्याम्पुमा प्रहार गर्न खोजे अनि उनीको दुर्गतीको दिन शुरु भयो।

उनको हातैमा पड्कियो बम। उनी सडकमै ढले आफ्ना साथीहरू ज्यान जोगाउन भागे। पछि एउटा एम्बुलेन्सले उनलाई हेटौंडा अस्पताल लग्यो। तर,उपचार हुन दिइएन। तत्कालीन सेना र प्रहरीले उनलाई उपचार गर्न दिएनन् ।

थप उपचारका लागि भन्दै भरतपुरको पुरानो मेडिकल कलेजमा लगियो जहाँ उनलाई चरम यातना दिइयो। जहाँ बम लागेर उनको घाउ भएको थियो, त्यही सेना र प्रहरीले कुट्ने गर्दथे।

पानी माग्दा बोत्तलमा पिसाब फेरेर खान दिन्थे। करिब एक महिनापछि उनका दुवै हात कुहिनाभन्दा माथि काटेर फालियो अनि आँखा पुरै बन्द भयो। उनी अहिले त्यही आफ्नो अपांग शरीर लिएर बाँच्न बाध्य छन्।

चार छोरीको बिचल्ली

न्यासुरको साथमा छोरी कान्ति हरदम रहन्छिन्। उनको सहाराका लागि। चारवटा छोरी छन् न्यासुरका। एउटा छोरीको विवाह भए पनि अरु बाँकी छन्। बाँच्नुभन्दा मरेको भए ठीक हुने न्यासुरको भनाइ छ।

काठमाडौंको सिनामंगलमा सामान्य तरकारी पसल चलाएर उनकी पत्नीले परिवार चलाउने गरे पनि त्यो ठाउँमा नगरपालिकाले तरकारी बिक्री गर्न रोक लगाएपछि उनीहरूको अहिले बिचल्ली भएको छ। जसले युद्ध गर्न सिकाए उनीहरूले नै बिर्सिए ।न्यासुरको पीडा छ।

प्रतिक्रिया दिनुहोस्