सडक सुरक्षा थप व्यस्थित गर्न नेपाल सरकार प्रतिबद्ध: यातायात मन्त्री नेम्वाङ

0
Shares

पुष्करराज बुढाथोकी, भक्तपुर ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले सडक सुरक्षा थप व्यस्थित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

महानगरीय प्रहरी बृत्त थिमीले भक्तपुरको कौशलटारमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा एवं सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले नागरिक समाज र विभिन्न संघसंस्थाहरुको सहभागितामा मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

उहाँले सडक सुरक्षामा देखा परेका समस्याहरुको पहिचान गरी यसको समाधान गर्न नयाँ प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा पुर्वमन्त्री, प्रतिनिधी सभाका सदस्य महेश बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा गर्न र विकास निर्माणको कार्यलाई तीव्रता दिन सुरक्षा महत्वपूर्ण विषय रहेको उहाँले चर्चा गर्नुभयो ।

उहाँले अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर सुर्यबिनायकको ६ लेन सडकलाई उज्यालो,सुरक्षा र सौन्दर्यका हिसाबले देशकै नमुना सडक बनाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सडक सुरक्षा सबैको साझा विषय भएकोले नेपाल प्रहरीका साथै विभिन्न संघसंस्था र सडक प्रयोगकर्ताहरु उत्तरदायी हुनुपर्ने बताउनुभयो । समुदायप्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकले प्रहरीलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको समेत उहाँले बताउनुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर (जगुलु) श्रेष्ठले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समुदायको रुपान्त्रणमा महत्वपुर्ण भूमिका खेलेको बताउँदै प्रहरीलाई सक्दो सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा महानगरीय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले गत बर्षको तुलनामा यो बर्ष उपत्यका र उपत्यका बाहिर दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा कमी आए पनि ट्राफिक ब्यबस्थापन चुनौतिपुर्ण बन्दै गएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पार्दै सडक सुरक्षा राष्ट्रिय प्राथमिकतामा पर्नु पर्ने बताउनुभयो ।

उक्त सुरक्षा सामाग्रीहरु मध्यपुर ठिमी नगरपालिका, स्थानीय बैंक, सहकारी लगायत विभिन्न संघस्थाहरुको आर्थिक सहयोगमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख डिएसपी शान्तिराज कोईरालाले बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त ठिमीको आयोजना तथा मध्यपुर ठिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गठ्ठाघरको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रहरी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्त्री नेम्वाङ्गले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई रु १८ लाख बराबरका मोटरसाईकल, ब्रेथलाईजर,हुईल लक लगायतका सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभयो ।