चीनका राजदूत यान्छी र प्रदश ५ का मख्यमन्त्रीबीच भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

नेपालका लागि चीनका महामहिम राजदूत होउ यान्छी र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश पाँचले आर्थिक विकासमा उपलब्धी हासिल गरेको भन्दै बधाई दिइन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव काम लाग्ने बताए । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूत यान्छीलाई आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा भए यो क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हुने बताए । उनले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको पनि चिनियाँ राजदूतलाई बताए ।

त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने मुख्यमन्त्री पोखरेलले बताए ।

लुम्बिनी चिनियाँ आउन चाहने प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिधा उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताइन् । उनले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने धारणा राखिन् ।

राजदूत यान्छीले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको र ती क्षेत्रको भ्रमण गर्न पाउँदा खुशी लागेको बताइन् ।