कमोडिटी मार्केटको नयाँ लाइसेन्स दुई महिनाभित्र

0
Shares

नेपाल समाचरपत्र, काठमाडौं।

नेपालमा आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जोड दिनु भएको छ। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिहरूसँगको भेटमा देशको ऐनाको रुपमा रहेका आर्थिक पत्रकार को विकासमा जोड दिनुपर्ने बताउनु भएको हो।

पुँजीबजारका विकास र विस्तारका लागि आर्थिक पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने हँुदा जुन कुराले बजारको विकास र यससँग सम्बन्धित पक्षको हित हुन्छ, त्यसतर्फ ध्यान दिन अध्यक्ष ढुंगानाले आग्रह गर्नुभयो।

आफ्नो कार्यकालमा पुँजीबजारको स्थायित्वका लागि काम गर्ने बताउँदै उहाँले पुँजी बजारमा नयाँ औजारहरू थप गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अन्योलमा रहेको कमोडिटी मार्केट सञ्चालनका लागि नयाँ लाइसेन्स दिने काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो। पहिलानै सुल्झाइसक्नुपर्ने कमोडिटी मार्केटको विषय अब भने अल्झाएर नराख्ने उहाँले बताउनुभयो।

बोर्डका अध्यक्ष ढ्ंगानासँगको भेटमा नाफिजका अध्यक्ष सीताराम भट्टराईले पुँजीबजारका विषयमा कलम चलाउने धेरै आर्थिक पत्रकार रहेकाले उनिहरूको क्षमता विकासका लागि पहल गर्न आग्रह गरे। पुँजीबजार र मुलुकका हितका निम्ति नै कलम चलाउने आर्थिक पत्रकार लाई समन्वयको खाँचो रहेको बताउँदै अध्यक्ष भट्टराईले बोर्डले निरन्तर सहयोग र समन्वय गर्नेमा आशाबादी रहेको बताउनुभयो।