सहारा खोज्दै दृष्टिविहीन सासूबुहारी



धादिङ, (नेस)।

सासूबुहारी दुई धु्रवजस्ता हुन भनेर चित्रण गर्ने गरिन्छ। उनीहरू झगडा गर्छन्। मिलेर बस्दैनन् तर धादिङको गल्छी गाउँपालिका–१ फोसटारस्थित अर्काको घरको आड लागेर बसेका सासू ७९ वर्षीया अमृतकुमारी अधिकारी र बुहारी ५१ वर्षीया यमकुमारी आमाछोरी जसरी बसेका छन्।

जन्मजात दृष्टिविहीन यमकुमारीलाई उनकी सासूले लुगा धोइ दिने, फरिया लगाइ दिने, खाना बनाएर खुवाउने र आफू मेलापात जाँदा घरमा एक्लै हुन्छिन् भनेर डोर्याएर लाने गर्नुहुन्छ। नमूना परिवार भए पनि परिवारका सबै सदस्य एक–एक गरी मृत्यु भएपछि आमाछोरीजस्ता सासूबुहारी अहिले सहारा नपाएर बिचल्लीमा परेका छन्।

साँघुरो कोठामा दुईवटा सा–साना खाट। त्यसमाथि पातला ओड्ने ओछ्याउने। चिसोले बाहिर निस्कनसमेत कठीन भएको बेला पातला लुगा लगाएर दिउँसो लाग्ने घामका पर्खाइमा बस्नु उनीहरूको बाध्यता हो।

२१ वर्षअघि गजुरी गाउँपालिकाको पीडाबाट फोसटारमा ७० हजार रुपियाँ लिएर आएका थिए उनीहरू। आफ्नो भन्ने सकिएपछि बहिनीको घरको धन्सारमा बस्न आएको परिवार भूकम्पपछि भने बस्ने बाससमेत नभएर अर्काको घरको एकापटी छेउमा बसेर मृत्यु कुर्न बाध्य छन्।

गत जेठ महिनामा हृदयघातका कारण बहिनी अणकुमारीको मृत्यु भएपछि सहाराविहीन सासूबुहारी अब के खाने र कहाँ जाने भन्ने गन्तव्य हराएपछि बिचल्लीमा परेको यमकुमारीले बताउनुभयो।

स्थानीय सरकारले अपांगताका लागि धेरै काम गरेको समाचार आइरहेको भए पनि दृष्टिविहीन यमकुमारीसँग सेतो छडीसमेत छैन। स्थानीय सरकारका तर्फबाट सहयोग नपाएको उनीहरूको गुनासो छ। सरकारले हरेक महिना बुहारीलाई दिएको एकल महिला भत्ता २ हजार र सासूलाई वृद्धभत्ता ३ हजार गरी जम्मा ५ हजारले जति पुग्छ त्यति खाएर बाचेको अमृतकुमारी बताउनुहुन्छ।

‘अब त भात पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भएँ, आँखा पनि धमिलो हुन थाल्यो अब केही उपाय छैन, उहाँले भन्नुभयो– ‘हामी एक्लो भयाँै कहाँ जाने ?’ कसले हेर्ने भन्ने चिन्तामा छन् उनीहरू। ‘मर्न पनि सक्दैनौँ बाँच्ने सहारा पनि सकियो’ –उहाँले भन्नुभयो।

‘आमा नसक्ने हुनु भो मलाई पकाएर खान दिने मान्छे पनि हुँदैन फरियासमेत लगाइदिनुहुन्छ म त आमासँगै जाने हो, उहाँले भन्नुभयो– ‘आमालाई छोड्दिन।’ सेतो छडीसमेत नभएकी यमकुमारी खुट्टाले छामेर भित्रबाहिर गर्ने गर्नुहुन्छ।

संघीय सरकारले दिने भत्ताबाहेक वडाले केही गर्न नसकेको वडाध्यक्ष पूर्णप्रसाद खतिवडाले बताउनुभयो। यो अवस्थामा रहेका मानिसको संरक्षण सरकारले गर्छ भनेर दिनदिनै समाचार आउँछ। नेपालको संविधानको मौलिक हकले पनि संरक्षणको जिम्मा राज्यको हो भने पनि यो परिवार बेसाहारा बन्दा समेत सहयोग पाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्