१० रुपियाँमा पेटभर खाना

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर।

झापाको बिर्तामोडमा १० रुपियाँमा नै पेटभरि खाना खाने गरेका छन्। युवा व्यवसायीहरू प्रवीन अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले बिर्तामोडको खड्का कम्प्लेक्स छेउमा १० रुपियाँमा पेटभरि शाकाहारी खानाको व्यवस्था गरेका हुन्।

दैनिक ५ सयभन्दा बढीले खाना खाने गरेका छन्। बिहीबारबाट यो व्यवस्था शुरु भएको हो। खाना खुवाउने कार्यक्रममा दैनिक ५ सयभन्दा बढीले खाने गरेको व्यवसायी मनोज अग्रवालले बताउनुभयो।

‘प्रत्येक दिन बिहान ९ बजेबाट मध्य≈न १२ बजेसम्म प्रतिव्यक्ति १० रुपियाँमा पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराउँछौं, उहाँले भन्नुभयो– ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरेका हौं।’

पछिल्लो समय विभिन्न कलेजका विद्यार्थीहरूले समेत सहभागिता जनाएको उहाँको भनाइ छ। हुनेखाने परिवारका व्यक्तिहरू खाना खान राम्रा–राम्रा होटल जाने गरेका तर गरिब, विपन्न र भोका मानिसहरू भोकभोकै बस्नुपर्ने भएकाले उनीहरूले भोकभोकै बस्नु नपरोस् भनेर १० रुपियाँमै पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराएको सञ्चालकहरूको भनाइ छ।

यो अभियानलाई कम्तिमा एक महिनासम्म सञ्चालन गर्ने बताइएको छ। निःशुल्क खाना खुवाउन सक्ने भए पनि निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खाना खान नआउने भएकाले धनी, गरिब सबै प्रकारका मानिस खाना खान आऊन् भनेर १० रुपियाँ शुल्क तोकेर शुद्ध शाकाहारी खाना खुवाउने अभियान शुरु गरेको प्रवीनले बताउनुभयो।

दैनिक खाना खुवाउने कार्य सञ्चालन गर्दा १० देखि १५ हजार रुपियाँ खर्च हुने र उक्त खर्च तीन युवा व्यवसायीहरूले व्यहोर्दै आएका छन्। तीन भाइ मिलेर यो अभियान शुरु गरेको र महिना दिनसम्म सञ्चालन गर्ने उद्देश्य लिएको उहाँहरूले बताउनुभयो छ।

खानाबाट संकलन भएको १० रुपियाँको हिसाब महिनाको अन्तिम दिन गर्ने र त्यसले कति दिन खाना खुवाउन सकिन्छ भन्नेमा थप समय निर्धारण हुने प्रवीनले बताउनुभयो।

कुनै पनि व्यवसायी तथा कसैसँग पनि चन्दा नमाग्ने तर स्वेच्छाले कसैले सहयोग गरेमा सहयोग भने लिने उहाँहरूको भनाइ छ। सो अवधिभर पकाउने र वितरण गर्नेलाई भ्याइनभ्याइ हुने गरेको पाइएको छ। खानामा दाल, तरकारी र अचार समावेश गरिएको छ।