झरी र हिमपातले जनजीवन अस्तव्यस्त

0
Shares

नेपाल समाचारपत्र, बझाङ।

एक सातादेखि परेको झरी र हिमपातका कारण बझाङको जनजीवन प्रभावित भएको छ। हिमपात र वर्षात्का कारण जिल्लाको यातायात, टेलिफोन, विद्युत् तथा इन्टरनेट सेवा पूर्ण रुपले अवरुद्ध भएपछि जनजीवन अस्तव्यस्त भएको हो।

बिहीबारदेखि लगातारको वर्षा र छिनछिनमै पर्ने हिमपातका कारण चिसोले जनजीवन कस्टकर बनेको छ। जिल्लामा सञ्चालित ८ वटा एफएम रेडियोसमेत विद्युत् नहुँदा बन्द भएका छन्। जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही नआएपछि बन्द भएको जनाइएको छ।

इमेल इन्टरनेट अबरुद्ध भएपछि बैङ्किङ सेवासमेत पूर्ण रूपमा बन्द भएका राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक प्रकाश विष्टले बताउनुभयो। ‘सबै कारोबार इमेल इन्टरनेट नभइ नहुने भएकाले कारोबार ठप्प छ, उहाँले भन्नुभयो– ‘इन्टरनेट नभएसम्म हामी काम गर्न सक्दैनौं।’

आइतबार केही समय सुचारु भएको जयपृथ्वी राजमार्ग पुनः हिमपात भएपछि पूर्ण रूपमा अबरुद्ध भएको बस व्यावसायीको भनाइ छ। ‘हिमपातले जयपृथ्वी राजमार्ग खोड्पे–बझाङ सडक खण्डसमेत बन्द भएपछि दैनिक उपभोग्य वस्तुहरू आपूर्ति हुन नसक्दा समस्या भएको छ, स्थानीय वीरेन्द्र सिंहले भन्नुभयो– ‘लामो समयसम्म यातायात नचलेपछि दैनिक उपभोग्य वस्तु चामल, गहँु, पिठो, तरकारी, चिनी, दाललगायतका वस्तु आपूर्ति नहँुदा बजारमा अभाव भएको छ।’