चार सिमेन्ट कम्पनी मापदण्ड बिपरित

0
Shares

काठमाडौं (नेस) ।

नेपाल गुणस्तर तथा नापतौल विभागले ४ ब्राण्डका सिमेन्ट कम्पनी मापदण्ड बिपरित भएको ठहर गर्दै नेपाल गुणस्तर चिन्ह (एनएस) दिन इन्कार गरेको छ।

विभागले तोकेको मापदण्ड नपुगेका विशाल सिमेन्ट, आरएमसी सिमेन्ट, इन्टरनेशनल सिमेन्ट र हिमालयज सिमेन्टलाई एनएस चिन्ह नदिएको हो। विभागका अनुसार विशालको पीपीसी सिमेन्टमा एमजिओ ६ प्रतिशत हुनपर्नेमा ६ दशमलव ४ प्रतिशत भेटिएको छ।

त्यसैगरी, इन्टरनेशनल सिमेन्टको ओपिसी ब्राण्डमा एमजिओ ५ प्रतिशत हुनुपर्ने ६ प्रतिशत पाइएको जनाएको छ। यो सिमेन्टमा इन्स्लोबल रेसिड्यू (आइआर)को मात्रा २ प्रतिशत हुनुपर्नेमा पनि ४ दशमलव ९ प्रतिशत पाइएको छ।

यसैगरी आरएमसी सिमेन्टको ओपिसी ब्राण्डमा एमजिओ ७ दशमलव २ प्रतिशत पाइएको छ। हिमालयज सिमेन्टको पीपीसी ब्राण्डमा आइआर २९ दशमलव ३ प्रतिशत पाइएको विभागले जनाएको छ।