जेठलाई चिसो एस्ट्रे

0
Shares

गाउँबाट शहर आएको युवाको शहरिया बन्ने यात्रा समेटिएको फिल्म चिसो एस्ट्रे आगामी जेठ १६ मा रिलिज हुने भएको छ। आधुनिक बन्न खोज्दा आफैलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्ने फिल्मलाई दिनेश पाल्पाली (दिन्श)ले निर्देशन गरेका छन्।

दिन्शले यसअघि बालकृष्ण सम ः अनटोल्ड स्टोरी निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, अमेरिका, चीनलगायतका देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।

निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए। ‘फिल्मले गाउँबाट शहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ’, दिन्शले भने– ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ।

आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो।’ फिल्ममा दिव्य देवले मदनको रूपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ। दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नवीनले राहदानी, कारखानाजस्ता फिल्ममा काम गरिसकेका छन्।

निकुन श्रेष्ठ छड्के र झिग्रानामा रुचाइएका कलाकार हुन्।कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बोले सघाएका छन्।

फिल्ममा दिन्श लेखनसँगै गीतकारका रूपमा पनि रहेका छन्। फिल्ममा संगीत अजर जंगमको रहेको छ। उज्ज्वल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।