सरकार जनअधिकार कुण्ठित गर्ने कानुन निर्माणमा सक्रिय



नेपाल समाचारपत्र, विराटनगर।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताउनुभएको छ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेद्वारसँग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले सो कुरा भन्नुभएको हो।

‘सामाजिक सञ्जालदेखि जनताले गरेको कुराकानीसमेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ,’ उहाँले भन्नुभयो– ‘कांग्रेसले गरेको विरोधका बाबजुद यो क्रम रोकिएको छैन।’

संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आह्वान गर्नुभयो। संग्रौलाले केपी ओलीले चुनाव अघि राष्ट्रवादको रटान लगाएको तर कालापानी र लिम्पियाधुराको विवाद उठ्दा भारतले कुटनीतिक रूपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यहीँ गरेको आरोप लगाउनुभयो।

‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ,’ उहाँले भन्नुभयो– ‘सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको छ। उसले प्रतिबद्धता जनाए अनुसार काम गर्नै सकेको छैन्।’

कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र निरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ। पत्रकार सम्मेलनमा उमेदवार घिमिरेले आफ्नो उमेदवारी व्यवसायिक क्षेत्रको विकासका लागि पनि भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘व्यवसायिक क्षेत्रको प्रवद्र्धन अब जरुरी भइसकेको छ।’

प्रतिक्रिया दिनुहोस्