सांस्कृतिक संस्थानको महाप्रबन्धकमा राई


लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएका पत्रकार अशोककुमार प्यासी राई मन्त्री परिषद्को निर्णयबाट सांस्कृतिक संस्थानको महाप्रबन्धक नियुक्त भएका छन्।

राईले सोमबार पदभार सम्हालेका छन्।संस्थानका कर्मचारीहरूले उनको स्वागत गर्दै संस्थानका बारेमा संक्षिप्त जानकारीसमेत गराए। ताप्लेजुङमा जन्मेर झन्डै दुई दशकदेखि पत्रकारिता गर्दै आएका राईलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद्ले महाप्रबन्धकमा नियुक्त गरेको हो।

उनी चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। उनले दर्जनभन्दा बढी कार्यक्रमको आयोजनासमेत गरेका छन्।पदभार सम्हाल्दै महाप्रबन्धक राईले सांस्कृतिक संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट संस्थान बनाउने कार्यमा आफू लागिपर्ने बताए। गत साउनदेखि रिक्त संस्थानको महाप्रबन्धकमा उनलाई गत बिहीबार नियुक्त गरिएको हो।