राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा नौ जनाको मनोनयन



सरोज यादव, विराटनगर।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १ मा तीन वटा राजनीतिक दलबाट ९ जनाले मनोनयन दर्ता गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले खालि ९ वटै पदमा उम्मेद्वारी दिएका हुन्।

नेपाल कम्युनिस्ट पार्टीबाट महिलातर्फ ६४ वर्षीया इन्दिरादेवी गौतमले उम्मेदवारी दिनुभएको छ। उहाँ सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–४ की स्थायी बासिन्दा हुनुहुन्छ। दलिततर्फ मोरङका गोपीबहादुर सार्की अछामीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने अन्यतर्फबाट झापाका ६१ वर्षीय देवेन्द्र दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसबाट महिलातर्फ सुनसरीकी ६५ वर्षीय मीना पुलामी मगरले, दलिततर्फ पाँचथरका नीरबहादुर विश्वकर्माले र अन्य समूहतर्फ झापाका ५८ वर्षीय राजेन्द्रकुमार घिमिरेले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय मोरङले जनाएको छ।

त्यस्तै समाजवादी पार्टीबाट महिलातर्फ विराटनगरकी कमला बडही, दलिततर्फ मोरङका ज्ञानकुमार परियार र अन्य तर्फ विराटनगरका भरतकुमार दाहालले मनोनयन दर्ता गराउनुभएको छ।नेपाल कम्युनिस्ट पार्टीको स्थानीय तहमा १ सय ७० सिट छ। यसको मतभार ३ हजार ६० रहेको छ। प्रदेशसभामा नेकपाको ६७ सदस्य छन्। प्रदेशसभा सदस्यको मतभार ३ हजार २ सय १६ रहेको छ।

नेकपाको जम्मा मतभार ६ हजार २ सय ७६ रहेको छ। त्यस्तै नेपाली कांग्रेसले स्थानीय तहमा ९६ सिट जितेको छ भने प्रदेशसभा सदस्य २१ जना रहेका छन्। नेपाली कांग्रेसको जम्मा मतभार २ हजार ७ सय ३६ रहेको छ।

त्यसैगरी समाजवादी पार्टीको स्थानीय तहमा ४ सिट र प्रदेशसभामा ३ जना छन्। यसको कूल मतभार २ सय १६ छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा चार जना र प्रदेशसभामा एक जना छन्। यसको मतभार एक सय २० छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ।

प्रतिक्रिया दिनुहोस्