खानेपानीको संकट टार्न डिप बोरिङ

0
Shares

इलाम, (नेस) ।

इलाम नगरपालिका–११ सोयाकमा नगरपालिकाले खानेपानीको संकट टार्न डिप बोरिङमार्फत् समस्या समाधान गर्ने भएको छ। वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीय बसाइँ सर्न थालेपछि नगरपालिकाले खानेपानीको समस्या समाधान गर्न गाउँमा डिप बोरिङ निर्माण गर्ने भएको हो।

बोरिङमार्फत् खानेपानी निकालेर समस्याको समाधान गर्न नगरपालिका लागिपरेको नगरपालिका प्रमुख महेश बस्नेतले बताउनुभयो। नेपाल सरकारको २ करोड २४ लाख विशेष अनुदानमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिन लागिएको हो।

करिब १ सय २५ मिटर गहिराइबाट बिजुली र सोलार सिस्टमको माध्यमले लिफ्टीङ गरेर पानी निकालिने भएको नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताउनुभयो। यस प्रविधिबाट प्रतिसेकेन्ड ३ दशमलव ५ लिटर पानी आउने नगरपालिकाले जनाएको छ। डिप बोरिङमार्फत् ल्याइने पानीबाट सोयाकका ५ सय घरधुरीलाई वितरण गर्न सकिने बताइएको छ।

पानी ६५ हजार लिटर र १० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरेर राखिने र तत्काल ७५ घरधुरी परिवारलाई पानी वितरण गरिने नगरपालिकाले जनाएको छ। जिल्लामै पहिलोपटक डिप बोरिङबाट जमिनमुनिको पानी निकालिन लागिएको हो।

खानेपानीको हाहाकारले नागरिक हैरान भएको अवस्थामा उनीहरूको समस्या टार्न नयाँ प्रविधिको प्रयोग गर्न लागेको मेयर बस्नेतको भनाइ छ।

खानेपानी अभावकै कारण गाउँबाट मानिसहरू बसाइँ सर्न शुरु भएको थियो, तर अब पानीको समस्या समाधान हुने भएपछि बसाइँसराइँ नहुने विश्वास लिएको मेयर बस्नेतले बताउनुभयो ।