विमल विष्ट, डोटी।
कुनै समय सुदूरपश्चिमका नौ वटा जिल्लाको प्रशासनिक केन्द्र रहेको, निकै चहलपहल हुने डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल मुलुक संघीयतामा गएसँगै सुनसान प्रायः भएको छ। अधिकार कटौतीसँगै कार्यालयहरू समेत धनगढीमा सरेपछि दिपायलको सिलगढी सुनसान जस्तै बन्दै गएको हो।
प्रशासनिक अड्डा सरुवा भएसँगै यहाँबाट बसाइँ सर्नेक्रम पनि एकाएक बढेको छ। एक वर्षयताको अभिलेख हेर्ने हो भने प्रदेशकै पुरानो मध्ये एक मात्र दिपायल सिलगढी नगरपालिकाबाट बसाइँ सारेर अन्यत्र जानेको संख्या २ सय २० भन्दा बढी रहेको छ।
अन्य क्षेत्रबाट यस नगरपालिकामा बसाइँ सारेर आउनेको संख्या ३ जना मात्रै रहेको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो। सदरमुकाममै घर भएका व्यक्तिहरूको यहाँ बस्ने मनस्थिति नरहेको उहाँले जानकारी दिनुभयो।
स्थानीय तहको गतिविधि गाउँ तिर बढेपछि सदरमुकामको चहलपहल पनि निकै घटेको होटल व्यवसायि संघ डोटीका अध्यक्ष राजेन्द्रबिक्रम शाहीले बताउनुभयो। ‘गाउँमा गतिविधि बढेपछि स्थानीय आउन छोडे, उहाँले भन्नुभयो–‘सदरमुकाममा भएकाहरू बसाइँ सरेर अनेत्र जाँदैछन् व्यापार व्यवसाय मन्द हुन थालेको छ।’
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएपछि जिल्ला तथा पुरानो क्षेत्रीय सदरमुकामका ठूला व्यापारी पनि अहिले क्रमिक रूपमा तराईतिर झर्न थालेको उहाँले बताउनुभयो। जिल्ला सदरमुकाममा पुरै नेवारी बस्ती, काठमाडौंसँग मेलखाने हावापानी भएकाले सिलगढीलाई कान्छी नेपाल पनि भनिने गरिएको स्थानीय शरिफ श्रेष्ठले बताउनुभयो।
नेवार समूदायका कतिपय मानिस पनि बसाइँ सरेर जान थालेपछि बजारकै घर पनि खाली रहेका छन्। यहाँको प्रमुख व्यापारी केन्द्र राजपुर, दिपायल र पिपल्ला क्षेत्रका ठूला व्यापारी पनि सम्भावना भएका ठाउँहरू खोजेर हिँड्न थालेका छन्।
बाइसे चौबिसे राज्य हुँदा डोटी एउटा प्रदेश थियो। त्यसयताका अजय मेरुकोटमा राजधानी थियो भने शीतकालिन दरबार दिपायलको गानरगौडामा थियो। राणाकालामा उपत्यका बाहिरका ४ वटा गांैडा मध्ये डोटी कर्णाली वारीको एउटा मात्रै गौंडा राज्य थियो।
पञ्चायत कालमा दिपायल पाँचौ विकास क्षेत्रको सदरमुकामको रूपमा स्थापना भयो। दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाठकका अनुसार दिपायल सिलगढी सबै व्यवस्थाले प्राथमिकतामा राखेको भएपनि संघीयताले अन्यायमा पारेको बताउनुभयो।
‘दिपायलाई सबै व्यवस्थाले राम्रै गरेको थियो तर संघीयताले अन्याय गर्यो, उहाँले भन्नुभयो–‘यहाँका नागरिकको भावन कसैले बुझेन।’ सबै प्रशासनिक केन्द्र हँुदासमेत दिपायल सिलगढीको विकास हुन नसकेको आरोपसमेत लाग्ने गरेको छ।
पछिल्लो समय जिल्लाको पुँजी अन्यत्र पलायन हुँदा यहाँको विकास हुन नसकेको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलको गुनासो रहेको छ। दिपायल सिलगढी नगरपालिका भएर सेवा सुविधाको दष्टिकोणले गाउँपालिका भन्दा पछाडी रहेकाले बसाई सर्नेक्रम बढेको कतिपय स्थानीयको आरोप छ।
सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रका नगरहरूमा जनसंख्याको चाप बढी रहेका बेला दिपायल सिलगढी नगरपालिकामा भने अन्यत्र बसाइँ सरी जानेक्रम बढ्दा बस्ती वर्षेनी खाली हँुदै जान थालेका छन्।
जिल्ला सदरमुकाम सिलगढी बजारबाट पनि वर्षेनी बसाई सार्नेहरूको संख्या घेरै रहेको पाइएको छ। नगरपालिको पागरी, रातुली र सिरखोलीसैनमा बस्ती पातलिएको छ। सिलगढी खलङ्गामा अधिकाँश घर खाली छन्। दिपायल सिलगढी नगरपालिका विस २०३९ सालमा स्थापना भएको नगरपालिका हो।
नगरपालिका सहित समग्र जिल्लाको वसाइँसराइँ दरलाई घटाउनका लागि नगर तथा गाउँको विकास हुनुपर्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो। ‘बसाइँसराइँ दर रोक्न जिल्लामा विभिन्न किसिमका कलकारखाना तथा उद्योग धन्दाहरू खोल्नु जरुरी छ, उहाँले भन्नुभयो–‘चाहे त्यो नगरपालिकाको लगानीमा होस या सरकारी अनुदानमा होस्।’
दिपायल सिलगढी नगरपालिका भएर पनि यहाँका सबै वडामा अहिले सम्म बिजुली, खानेपानी, सडक, स्वास्थ्य सेवा पुग्न सकेको छैन। दिपायल सिलगढी नगरपालिकामा कुल ३२ हजार जनसंख्या रहेको छ। जनसंख्या दर पनि ओरालो लागेको देखिएको छ।
प्रतिक्रिया