४ दिन कुहिने र ३ दिन नकुहिने फोहोर संकलन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

काठमाडौं महानगरपालिकाले साताको ४ दिन कुहिने र ३ दिन नकुहिने फोहोर फोहोर संकलन शुरु गरेको छ। शहरी फोहोरलाई वर्गीकरण गर्ने नीतिअनुसार सात दिनसम्मको कुहिने र नकुहिने फोहोर संकलन शुरु गरेको हो।

कामपा वातावरण व्यवस्थापन विभागले पहिलो चरणमा वडा नम्बर १२ र १८ र २१ मा सो व्यवस्था लागू गरेको हो। वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार नकुहिने र सोम, बुध र शुक्रबार कुहिने फोहोर संकलन गर्न शुरु गरिएको हो।

उहाँका अनुसार तोकिएको समयमा घरघरमा फोहोर संकलन गर्न आउने सवारीसाधनसहितका कर्मचारीहरूले तोकेको दिनमा कुहिने र नकुहिने फोहोर संकलन गर्नेछन्।

‘पहिलो चरणको काम शुरु गरिसकेका छौं, दोस्रो चरणका लागि गृहकार्य गरिरहेका छौं’ –विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो। विभागले वडा कार्यालयको समन्वयमा वर्गीकरण गरिएको फोहोर संकलन शुरु गरेको हो। विभागले फोहोरको सही सदुपयोग गर्न वर्गीकरण शुरु गरेको जनाएको छ।

अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारहरूको अभाव, जनसंख्या बृद्धि, जनचेतनाको अभाव, नागरिकमा अशोभनीय व्यवहारजस्ता कारणले काठमाडौं महानगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहोर संकलन गर्न नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।

महानगरले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहोर व्यवस्थापन गर्ने तयारी गरेको छ। ‘अहिले उपत्यकामा घरेलु, औद्योगिक, रसायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहोरमैला उत्पादन हुने गरेको छ।

फोहोरमैलालाई स्रोतमा न्यूनीकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी फोहोरमैलाको व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गरी स्वच्छ वातावरण कायम गर्न नयाँ योजना कार्यान्वयनमा ल्याइएको विभागीय प्रमुख श्रेष्ठको भनाइ छ।

फोहोरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहोरमैलाको परिमाण कम गर्न घरघरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहोर फरक किसिमले भाडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहोर संकलन गरेको उहाँले बताउनुभयो।

कामपाले वडाको फोहोर व्यवस्थापन गर्न वडास्तरीय समूह परिचालन समेत गरेको छ। समूहलाई घर, होटल, अस्पताल, उद्योग कलकारखाना, गार्मेन्ट आदिबाट उत्सर्जन गरिएको फोहोर सडकमा नआउने गरी व्यवस्थापन गर्न जिम्मेवारी तोकिएको छ। विभागले टोलटोलमा समिति गठन गरेको छ। समितिले जथाभावी फोहोर फ्याँक्नेमाथि कारबाही गर्ने जिम्मा दिइएको छ।

समूहले सजाय गरेको रकमको २५ प्रतिशत सम्बन्धित समितिलाई दिने नीति बनाएको श्रेष्ठले जानकारी दिनुभयो। महानगरले जैविक र अजैविक फोहोरको संकलन गर्न कम्पोस्ट र डस्टविन उपलब्ध गराउनेछ।

डस्टबिनमा जैविक र अजैविक फोहोर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसावारीमा प्रयोग गर्ने अजैविक फोहोरलाई पुनः प्रयोग गर्न कवाडीलाई विक्री गर्न दररेट कायम गर्ने समेतको व्यवस्था गरेको छ।हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक १ हजार ४५ टन फोहोर संकलन हुने गरेको छ।

पछिल्लो तथ्यांकअनुसार उपत्यकामा ७० दशमलव ८७ जैविक, ९ दशमलव १८ प्रतिशत प्लास्टिक, ८ दशमलव ५१ प्रतिशत कागजजन्य, शून्य दशमलव ५४ प्रतिशत रबरजन्य, ३ दशमलव शून्य २ प्रतिशत कपडाजन्य, २ दशमलव ५० प्रतिशत काँच र सिसाजन्य, शून्य दशमलव १२ प्रतिशत छालाजन्य र ४ दशमलव ३३ प्रतिशत काम नलाग्ने र निस्क्रिय फोहोर उत्पादन हुने गरेको छ।