राजधानीको व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट कामको बाँडफाँड

महानगरका नीति तथा योजना इमान्दार भएर पूरा गर्नोस्, जनताका गुनासा घट्छन् - मेयर शाक्य

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं सहरलाई व्यवस्थित र सुरक्षित बनाउन प्रधानमन्त्री ं तथा मन्त्री परिषद्को कार्यालयले कामको बाँडफाँड गरेको छ । सहरी सेवा, सहरी पूर्वाधार तथा सहरी सुबिधा बितरणमा सबैको पहुँच पुर्याउने उद्देश्यले गरिएको कामको बाँडफाँडमा केही काम कुनै कार्यालयको एक्लो जिम्मेवारीमा परेका छन् भने केही काम संयुक्त रुपमा सम्पादन गर्नु पर्नेछ । यसरी गरिएको बाँडफाँडमा महानगरको नेतृत्वमा हुने काम र यसको कार्यान्वयनमा बिषयमा बुधबार महानगरमा छलफल भएको छ ।

छलफलका क्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो — महानगरले नगर सभाबाट स्वीकृत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयन समस्या भयो । यदि ती नीति र कार्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा आएको भए, महानगरसँग न माथिल्ला निकायको अपेक्षा हुने थिएन । जनताका गुनासा पनि धेरै कम हुन्थे ।

उहाँले बिभागीय प्रमुखहरुलाई निर्देशन दिँदै भन्नुभयो – स्वीकृत नीति तथा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्नोस् । महानगरसँग बजेट छ, नीति र कार्यक्रम छ । सबै भएर पनि काम भएन, अब तपाईहरुले (बिभागीय प्रमुखहरु) जिम्मेवारी लिनोस् । अब प्रधानमन्त्रीकोमा जाँदा प्रगति प्रतिवेदन लिएर जान सकियोस् ।

सहरको दृश्य प्रदुषण व्यवस्थापनको प्रसङ्गमा होर्डिङ् बोर्ड हटाउने बिषयमा मेयर शाक्यले भन्नुभयो – तपाईले होर्डिङ् राख्न सहमति दिनुभएको भए जिम्मेवारी लिनोस् । होइन भने सबै हटाउनोस् । शुल्क लिएर राख्न दिएको भए, पैसा फिर्ता गर्नोस् र बोर्ड हटाउनोस् ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको बैठकमा उठेका बिषय र महानगरको नेतृत्वमा सम्पादन हुनुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

जुन काम जुन बिभागसँग सम्बन्धित छ, उही बिभागका प्रमुखले जिम्मेवारी लिनोस् । यदि तपाई काम गर्न सक्नुहुन्न भने अहिल्यै भन्नोस् । गर्न नसक्ने काम भए अहिले नै जिम्मा लिन सक्दिन भन्नोस्, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो -नियमित कामको जिम्मेवारी छोडेर होइन, त्इसलाई जोडेर तपाईले काम गर्नुपर्छ ।

हिजो (पुष १५ गते) प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवाला निकायका अधिकारीबीच सम्पन्न बैठकबाट भित्री सडकको खाल्टा पुर्ने काम महानगरको एकलौटी भागमा परेको छ ।

त्यस्तै बिगतमा अभ्यास गरिएको पिक एण्ड ड्रप कार्यक्रमलाई निरन्तरता दिने र बिस्तार गर्ने, बिहान साढे आठसम्ममा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधन गन्तव्यमा पुर्याइसक्नु पर्ने, सडकबाट निर्माणजन्य सामाग्री हटाउनु पर्ने, पैदल मार्गमा भएको अतिक्रमण हटाउनु पर्ने काम महानगरका एकलौटी जिम्मामा परेका छन् ।

त्यस्तै होर्डिङ बोर्ड हटाएर दृश्य प्रदुषण घटाउने, मोटरसाइकल र मोटरबाट हुने र्यालीलाई निरुत्साहित गर्ने काम पनि महानगरले गर्नु पर्ने कामको सूचीमा छन् । सौर्यबत्तीले सडकमा आवश्यक पर्ने उज्यालो प्राप्त नभएकोले सौर्यबत्तीको सट्टा मास लाइट जडान गर्ने काम पनि महानगरको भागमा छ ।

सडक किनाराका रेलिङ् निर्माण तथा मर्मत सम्भार गर्ने, आवागमन व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखामा सिसिटिभि कन्ट्रोल कक्ष बनाउने, पोर्टेबल आकाशे पुल बनाउने, सम्भव हुने सडक किनारामा पार्किङ् बक्स बनाउने, जग्गा लिजमा लिएर भर्टिकल पार्किङ् बनाउने काम सम्बन्धित कार्यालयसँगको सहकार्यमा महानगर सहायक भएर गर्ने कामको सूचीमा छन् ।

यसरी गरिने काममा ट्राफिक लाइट, पैदल यात्रु संकेत, कोटेश्वर क्षेत्रको सवारी चाप घटाउने, कोटेश्वरबाट जडिबुटीतर्फको सडक स्तरउन्नति गर्ने तथा सर्भिस लेन तयार पार्ने, गोङ्गबु बसपार्कबाट बिष्णुमती लिङ्क रोडतर्फ कोरिडोर खोल्ने, निर्माण स्थलमा सूचना राख्नेलगायतका काम संयुक्त पहलमा सम्पादन गर्ने सूचीमा परेका छन् ।