नेताहरूकै मागअनुसार महाधिवेशनको मिति तोकेको हुँ : देउवा

0
Shares

नेपाल समाचारपत्र, विराटनगर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका वरिष्ठ नेताहरूकै मागअनुसार महाधिवेशनको मिति तोकेको बताउनुभएको छ। विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै देउवाले पौडेल समूहतर्फ लक्षित गर्दै भन्नुभयो– ‘उहाँहरूकै मागअनुसार मैले केन्द्रीय समितिको बैठकबाट बहुमतबाट महाधिवेशन मिति तोकेको हुँ।’

पूर्वप्रधानमन्त्री देउवाले सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन नसकिने प्रस्ट पार्नुभयो। सहमतिका लागि आफूले हदैसम्मको लचकता अपनाएको उहाँको कथन थियो।

‘बैठकमा पनि नआउने अनि उहाँहरूकै मागअनुसार महाधिवेशनको मिति तोक्दा किन आपत्ति, प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अब महाधिवेशन तोकिएकै मितिमा हुन्छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहमतिका आधारमा निर्णय हुने कांग्रेसको संस्कार देउवाले मिचेको आरोप लगाउँदै महाधिवेशनको कार्यतालिका संशोधन हुनुपर्ने माग राख्दै आएको छ।

कुनै पनि हालतमा महाधिवेशनको कार्यतालिका परिवर्तन नहुने देउवाले जिकिर गर्नुभयो। देउवाले आफ््नो कार्यकालमा यती समूहलाई नेपाल ट्रस्टको जग्गा दिएको भनेर झुठो आरोप लगाएको दाबी गर्नुभयो।

देउवाले आफूले कालीमाटी र नारायणहिटी अगाडिको जग्गा यती समूहलाई दिएको भए प्रमाण ल्याउन चुनौती दिनुभयो। आफ्नो कार्यकालमा कस्ले कहाँ के–के निर्णय गर्छन् सबै थाहा नहुने भन्दै उहाँले आफूले त्यसबारे कुनै पनि हस्ताक्षर वा निर्णय नगरेको उल्लेख गर्नुभयो।

सभापति देउवाले इन्डो प्यासिफिककै अंग भए पनि एमसीसीलाई संसद्बाट पास गरेर जानुपर्ने बताउनुभयो। धेरै ठूलोे मात्रामा पैसा नेपाल आउने भएका कारण पनि नेकपाले उक्त एमसीसीलाई संसद्बाट पास गर्छ भन्ने आफूलाई विश्वास रहेको देउवाको भनाइ थियो।

त्यति ठूलो अनुदान पहिलोपटक आउन लागेकाले त्यसलाई पारित गर्दा नेपाललाई धेरै फाइदा हुने बताउनुभयो।