छिन्ताओको सहयोगमा प्राविधिक शिक्षा दिँदै सिद्धार्थ वनस्थली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनमा छिमेकी मुलुक चीनको एक प्राज्ञिक टोलीले नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्ने निर्णय गरेको छ। चीनको छिन्ताओ इलेक्ट्रोनिक स्कुलको सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आगामी दिनमा प्राविधिक विषयमा कक्षाहरू सञ्चालन गर्ने भएको छ।

बुधबार छिन्ताओ इलेक्ट्रोनिक स्कुलका प्राचार्य छ्वई सी चान, सोही स्कुलका निर्देशक क्वइ छ्वन, अङ्ग्रेजी शिक्षिका ली लेई, ली च्वीन फाङ तथा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको एक टोलीले सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रूपक राजवंशीलगायत टोलीसँग प्राविधिक शिक्षा सञ्चालन गर्न सहमति गरेको छ।

सिद्धार्थ वनस्थलीले लामो समयदेखि चीनको छिन्ताओ स्कुलसँग सहकार्य गर्दै आएको र आज आफ्नो विद्यालयमा छिन्ताओ स्कुलसँग सहयोग तथा सहकार्य गर्न पाउँदा ज्यादै खुसी लागेको प्राचार्य रूपक राजवंशीले बताउनुभयो। उहाँले आगामी दिनमा प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो।

छिन्ताओ चीनको विशिष्ट विद्यालय भएको बताउँदै उहाँले हाललाई तीनवटा विषयमा अध्यापन गराउने गरी सहकार्य भएको जानकारी दिनुभयो।त्यसै गरी सोही विद्यालयका संस्थापक तथा पूर्वप्रधानाध्यापक लक्ष्मण राजवंशीले निनियाँ राष्ट्रपति सी जिन पिङको हालैको नेपाल भ्रमणको चर्चा गर्दै छिन्ताओ स्कुलले आफ्नो प्रतिबद्धता पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

उहाँले नेपालमा शिक्षित व्यक्ति पनि बेरोजगार भएर खाडी मुलुक पस्ने बाध्यतालाई अबको प्राविधिक शिक्षाले हटाउने बताउनुभयो।
त्यसै गरी छिन्ताओ इलेक्ट्रोनिक स्कुलका प्राचार्य छ्वई सी चानले आफू आएको पन्ध्र मिनेट पनि भएको छैन तर यो विद्यालय धेरै पक्षमा उत्कृष्ट छ भन्ने आफूले अनुमान लगाएको बताउनुभयो।

यसले गर्दा पनि आफू सिद्धार्थ वनस्थलीसँग सहकार्य गर्न आतुर रहेको उहाँको भनाइ थियो। उहाँले दुवै विद्यालयबाट उत्पादित जनशक्तिले विद्यालय, परिवार, समाज अनि दुवै राष्ट्रको सभ्य समाज निर्माण गर्न प्राविधिक शिक्षाले टेवा दिनेमा आफू ढुक्क रहेको बताउनुभयो।

उहाँले छिन्ताओ इलेक्ट्रोनिक स्कुल पूरै चीनमा कहलिएको विद्यालय भएकाले अब नेपालको सिद्धार्थ वनस्थली पनि पूरै नेपालमा कहलिनेमा आफू आशावादी भएको धारणा व्यक्त गर्नुभयो।

यसअघि पनि छिन्ताओ स्कुलले सहयोग गर्ने अभियान चलाएको थियो। दुई विद्यालयबीच शिक्षक तथा विद्यार्थीलाई सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाको बारेमा भ्रमण गराइ ज्ञान आदानप्रदान गरिएको थियो।