प्रधानमन्त्रीलाई विद्यार्थीको प्रश्न : हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्न हुन्छ कि हुन्न ?

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

प्रधानमन्त्रीज्यू, हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्न हुन्छ कि हुँदैन ? तपाईंले कहिल्यै कल्पना गर्नुभएको थियो प्रधानमन्त्री हुन्छु भनेर ? प्रधानमन्त्री बन्ने इच्छा हुने युवालाई कस्तो सुझाव दिनुहुन्छ ? सानो उमेरमै बालबालिकाले किन भविष्यको निर्णय लिन्छन् ?

सानोमा तपार्इंको स्वभाव कस्तो थियो ? तपाईंको प्रेरणाको स्रोत को हो ? तपार्इंलाई नराम्रो सपनाले सताएको छ कि छैन ? हजुरको जस्तो अथाहा ज्ञान भएको मान्छे हामी कसरी हुन सक्छौं ? बालबालिकाका लागि के–कस्तो कार्यक्रम लागू गरिएको छ ?

अंग्रेजी नयाँ वर्षको अवसरमा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित बालबालिकाले यस्ता प्रश्न सोधेका थिए। विद्यार्थीले सोधेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले उत्तर दिँदै भन्नुभयो– ‘बालबालिकाको यो उमेर जिज्ञासु उमेर हो, मलाई पनि बच्चामा यस्ता थुप्रै प्रश्न सोध्ने कौतुहलता जागिरहन्थ्यो।’

नेपाल स्काउटले विद्यालय उमेर समूहका स्काउटर बालबालिकाले यस्ता प्रश्न सोधिरहँदा उत्साहित भएर उत्तर दिनुभएका प्रधानमन्त्री ओलीले जीवनमा उल्लेखनीय काम गरे अवश्य पनि सबैको भविष्य राम्रो हुने बताउनुभयो। विद्यार्थीले सोधेका प्रश्नको उत्तर दिने क्रममा उहाँले बालबालिकाहरू यो उमेरमा राजनीतिमा लाग्नुहुँदैन तर मुलुकको मूल राजनीति भएकाले राजनीतिको बारेमा जानकारी लिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘तिमीहरू यो उमेरमा राजनीतिमा लागे न भोट खसाल्न पाउँछौ न त कुनै पनि निकायमा प्रतिनिधि भएर निर्वाचनमा उठ्न पाउँछौ। त्यसैले म त यो भन्न चाहन्छु कि तिमीहरू अहिल्यै राजनीतिमा नलाग तर राजनीतिको बारे जानकार होऊ।’

प्रमको प्रश्नको उत्तर सुनेर विद्यार्थीहरू दङ्ग भएका थिए। अर्को प्रश्नको उत्तर दिने क्रममा उहाँले आफू पनि विद्यालय तह सकेपछि मात्रै राजनीतिमा लागेको बताउनुभयो। ‘म देशको परिवर्तनका लागि आन्दोलनमा लागेको थिएँ। मरिन्छ कि बाँचिन्छ भन्ने ठेगानै थिएन, तर परिवर्तनका लागि लागेपछि एक दिन अवश्य पनि देशको प्रधानमन्त्री भएँ।

तर अहिले पनि मलाई प्रधानमन्त्रीमै टिक्छु र टिकिरहन्छु भन्ने छैन। तिमीहरू पनि मेहेनत गरेर काम गर, तिमीहरू नै देशको राजनीति गर्ने व्यक्ति हुन्छौ’ –प्रम ओलीको भनाइ थियो। प्रम बन्ने इच्छा भएका युवालाई कस्तो सुझाव दिनुहन्छ भन्ने प्रश्नमा उहाँको उत्तर थियो– ‘जे उद्देश्य राखिन्छ, ठूलो उद्देश्य राख्नुपर्छ, प्रधानमन्त्री मात्रै होइन राष्ट्रपतिसमेत हुन सकिन्छ।’

उपत्यकाका करिब सरकारी निजी गरी करिब ५० विद्यालयका ८ सय विद्यार्थी रहेको प्रत्यक्ष साक्षात्कार कार्यक्रममा उहाँले नयाँ वर्षको भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई शुभकामना दिँदा बेग्लै आनन्द आउने धारणा राख्नुभयो।

कार्यक्रममा उहाँले आफ्ना विगतलाई सूक्ष्म ढंगले बालबाललिकासँग साक्षात्कार गर्नुभएको थियो। कार्यक्रममा उहाँले आफूले आफ्नो प्रेरणाको स्रोतका रूपमा हजुरआमालाई सम्झने गरेको बताउनुभयो। ‘म तीन वर्ष र केही महिनाको थिएँ, आमा बित्नुभयो, आमाको सहारा पाउन नसकेपछि हजुरआमाले मेरो रेखदेख गर्नुभयो’ –उहाँको उत्तर थियो। उहाँले बुबालाई प्रेरणाको स्रोत ठान्नुभएन।

विद्यार्थीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उहाँले निदाएर र ननिदाइकन देखिने सपनामा फरक हुने बताउनुभयो। शहीदको सपना पूरा गर्छु भन्ने तात्पर्य ननिदाई देखिने सपना हो भने दिमागमा रगतको कमी भएर देखिने सपना नराम्रो सपना हो भन्नुभयो।

मर्निङ सोज द डे भनेजस्तै अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको समग्र शिक्षाको विकासमा सरकार अग्रसर भएर लागेको बताउनुभयो। उहाँले सबैले मानव र धर्तीको विषयमा जान्नुपर्ने बताउनुभयो। ‘मानव भन्नाले आफ्नो देशको जनता र घर्ती भन्नाले देश हो यी दुईको विषयमा पूर्ण जानकारी लिनुपर्छ’ –उहाँले भन्नुभयो।

‘मैले पनि देश र जनताको विषयमा पूर्ण जानकारी लिएको भएर होला मसँग अथाहा ज्ञान छ भन्ने लागेको होला, तिमीहरूले पनि देश र जनताको विषयमा जानकारी राख मेरो जस्तै ज्ञान हासिल गर्न सक्नेछौं’ –ज्ञानका विषयमा विद्यार्थीलाई प्रमको जवाफ थियो।

प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रममा झन्डै १५ प्रश्न सोधेका थिए। स्काउटका संयोजक लोकबहादुर भण्डारीले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको दिन प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो।

उहाँले कहिल्यैै प्रत्यक्ष भेट गर्न नपाएका बालबालिकाले प्रधानमन्त्रीसँग देश र आफ्नो भविष्यको बारेमा केही विषयवस्तुको बारेमा जानकारी लिन यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

नेपाल स्काउटले गरेको यो कार्यक्रम दोस्रो हो। विद्यार्थीले प्रश्न राख्दा अधिकांशले देशको प्रधानमन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गर्दा आफूहरू खुसी रहेको धारणा व्यक्त गरेका थिए।

राष्ट्रिय कार्यक्रमभन्दा बालबालिका प्यारो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशले अति महत्वका साथ लिएको नेपाल भ्रमण वर्ष सन् २०२० को पाँच घण्टा लामो भव्य उद्घाटन सत्रभन्दा बालबालिका प्यारो देखिएको छ।

दशरथ रंगशालामा आयोजना गरिएको उद्घाटन कार्यक्रमको विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको नेपाल भ्रमण वर्षभन्दा पनि बालबालिकासँग साक्षात्कार गर्न रमाउनुभएको छ।

एउटा संस्था नेपाल स्काउटले अंग्रेजी नयाँ वर्षको पहिलो दिन आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा करिब साढे २ घण्टा बिताउन सक्ने प्रम ओलीले आफ्नो देशको अति महत्वपूर्ण कार्यक्रममा अनुपस्थित रहनुभयो।

साढे एक बजेदेखि शुरू भएको साक्षात्कार कार्यक्रममा सहभागी भएर सिधै बालुवाटार पुग्नुभएको थियो। रंगशालामा आयोजना गरिएको सो कार्यक्रममा प्रम ओलीको विशेष मन्तव्य रहेको थियो।