विद्यालय खाजा कार्यक्रम प्रभावकारी

0
Shares

राम धामी, डडेल्धुरा ।

डडेल्धुराका २ सय ४८ प्राथमिक विद्यालयमा सरकारले नयाँ शैलीमा विद्यालय खाजा कार्यक्रम शुरु गरेपछि यसको सकारात्मक प्रभाव बालबालिकामा मात्र नभई अभिभावकमा पनि परेको छ।

विश्व खाद्य कार्यक्रमको ३३ प्रतिशत र सरकारको बाँकी लगानीमा शुरु भएको दिवा खाजाका लागि ‘क्यास कार्यक्रम’ अन्तर्गत अधिकांश विद्यालयले खाजा बनाएर पठाउन अभिभावकलाई आग्रह गरेका छन्।

जिल्लामा २ सय ४८ विद्यालयका १५ हजार ८ सय ५८ र बालविकास केन्द्रका ४ हजार ५ सय ४५ विद्यार्थी लक्षित गरी यो कार्यक्रम लागू गरिएको छ। केही विद्यालयमा आमा समूहका सदस्य आएर हरेक दिन फरकफरक खाजा बनाएर खुवाउने गरेका छन्। कुनै विद्यालयमा घरबाटै खाजा बनाएर पठाउने गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख रामदत्त भट्टका अनुसार विगतका खाजा कार्यक्रमभन्दा यो फरक हो।

विद्यालयमा खाजा बनाएर खुवाउने, बालबालिकालाई तेल वितरण गर्ने र विद्यालयमा लिटो बनाएर खुवाउने भन्दा उनीहरूका आमालाई खाजाबराबरको रकम दिएर खाजा बनाउन लगाउने कार्यक्रमले विद्यालयसँग बालबालिकाका आमाको सिधा सम्पर्क हुन थालेको छ।

‘दैनिक १५ रुपियाँका दरले खाजाको रकम बुझ्न आउँदा बालबालिकाको हेरचाह गर्ने, उनीहरूको पढाइमा कसरी सघाउने र सरसफाइ कसरी गर्ने भन्ने विषयमा पनि आमालाई सचेत गर्न थालिएको छ।’ –भट्टले भन्नुभयो।

विद्यालय जाँदा गाउँको पसलबाट चाउचाउ, नमकिन र कुरमुरेजस्ता तयारी खाजा (जंक फुड) लैजाने बालबालिकाको हातमा हिजोआज घरमै पकाएको खाजा राखेको डब्बा हुन्छ। विद्यालयले साताको ६ दिन बेग्लाबेग्लै मेनु बनाएर दिएको छ। त्यहीअनुरुप घरमा आमाले खाजा बनाइदिनुहुन्छ।

यसले तयारी खाजामा लाग्ने खर्च जोगिएको छ। ‘बालबालिकाको स्वास्थ्यमा पनि फरक देखिन थालेको छ, स्थानीय अभिभावक शान्ति चटौतले भन्नुभयो– ‘खाजाका लागि स्कुलले दैनिक १५ रुपियाँ दिने गरेको छ।’ अभिभावकले यसरी नै दैनिक बेग्लाबेग्लै खाजा बनाएर पठाउन थालेका छन्।

नयाँ शैलीमा खाजा कार्यक्रम शुरु भएपछि यसले बालबालिकाको स्वास्थ्यमा मात्र होइन, अभिभावकको जीवनशैली पनि परिवर्तन हुन थालेको छ । ‘घरमा जस्तो पाकेको छ, त्यही खाएर बालबालिका विद्यालय जान्थे ।

अहिले विद्यालयले भनेजस्तै हरेक दिन बेग्लाबेग्लै खाजा बनाएर पठाउँदा बालबालिकालाई कस्तो खाना चाहिन्छ भन्ने जानकारी पाएको अभिभावक बताउँछन्।

हप्ताको दुई दिन अण्डा चना, एक दिन पुरी तरकारी, खिचडी, गेडागुडी, दालभात र एक दिन गेडागुडीको लिटो बनाएर पठाउन विद्यालयले अभिभावकलाई सिकाएको वसन्त प्राथमिक विद्यालयका शिक्षक परमानन्द भट्टले बताउनुभयो।