बहुमतको आधारमा महाधिवेशन मिति घोषणा गर्नु त्रुटिपूर्ण : कोइराला



नेपाल समाचारपत्र, विराटनगर। 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याएर सहमतिको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने बताउनु भएको छ।

प्रेस युनियन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले एकलौटी रूपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापती अघि बढ्न खोजेको आरोप लगाउनुभयो।

नेता कोइरालाले महाधिवेशको मिति लम्ब्याउने भन्दा पनि सबैको सहमतिमा आगामी मंसिरमा महाधिवेशन हुनुपर्ने बताउँदै सभापतिले सहमती कायम गर्नुपर्ने बताउनुभयो।

कार्यतालिका परिवर्तन गरेर सभापतीले महाधिवेशनका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाली कांग्रेसको इतिहासमा बहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिले नभएको भन्दै यस्तो अवस्थामा घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो।

पार्टीलाई एकढिक्का नबनाएसम्म आफूले राजनितिक विश्राम नलिने बताउनुभयो। एक प्रश्नमा उहाँले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रूपमा दिनु संस्थागत भ्रष्टाचार भएको सरकारलाई आरोप लगाउनुभयो।

‘सरकारले जनचाहना अनुसार कामगर्न सकेको छैन, उहाँले भन्नुभयो– ‘मुलुकमा महँगी, भ्रष्टाचार मौलाएको छ।’ उहाँले राजधानी र प्रदेशको नामांकनका विषयमा प्रदेश सरकाले गर्नुपर्ने निर्णय नेकपा र सरकारले गर्नुले पनि वर्तमान सरकार एकलौटी शासन व्यवस्थमा जान खोजेको प्रष्ट भएको बताउनुभयो।

हरेक विषयमा राष्ट्रपतिले राजनीतिक सक्रियता बढाउनु उपयुक्त नभएको उहाँको भनाई छ। उहाँले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफ्नो गरिमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्