नयाँ मोदी-लेखनाथ प्रसारण लाईन निर्माणमा अबरोध

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको देउपुर देखि कास्कीको लेखनाथ सम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाईनको निर्माण कार्यमा स्थानियबासीले अबरोध गरेका छन ।

पर्वतको मोदी गाउँपालिका वडा नं १ शेराबेसीका बासिन्दाले बिद्यालय नजिकबाट प्रसारणलाईन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको माग सहित अबरोध गरेका हुन । स्थानिय नवज्योती थम माबिलाई प्रसारणलाईनले प्रत्यक्ष प्रभाब पर्ने दाबी सहित उनीहरुले स्थानान्तरण गर्न माग गरेका छन ।

पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने बिद्युत आयोजनाहरुबाट उत्पादित बिद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ प्रसारण लाईन निर्माण भैरहेको छ ।

पर्वतको मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो छ । प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन । त्यस मध्ये शेराबँेसीका ३ वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लानुपर्ने माग स्थानियको छ ।

‘तीन वटा टावर स्थानान्तरण नगर्ने हो भने प्रत्यक्ष रुपमा बिद्यालयमा प्रत्यक्ष प्रभाब पर्छ’ बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुलक अधिकारीले भन्नुभयो‘जुनसुकै मुल्य चुकाएर पनि हामीले स्थानान्तरण गराई छाड्छौ ।

अहिले डिजाईन भएको ठाउँ भन्दा माथि र तलबाट लैजान सक्ने बिकल्प रहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । बिद्यालयको भवन उद्घाटन गर्न पुग्नु भएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना संग स्थानियबासी र बिद्यालय परिवारले पनि प्रमुख मागको रुपमा यसलाई नै राखेका छन ।

अध्यक्ष तिमिल्सिनाले कार्यक्रम स्थलमै पुग्नु भएका नेपाल बिद्युत प्राधिकरणका ग्रिड बिकास बिभागका प्रमुख दुर्गानन्द कडैयितलाई प्राबिधीक हिसाबले बिकल्प निक्ले सम्म स्थानियको माग सम्बोधन गर्न निर्देशन दिनुभयो ।

भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाईन डेढ बर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । आगामी जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि पर्वतको देउपुर कोरुङ्गा र कास्कीको माछापुच्छे« गाउँपालिकाको लाहाचोकका दुई वटा सबस्टेशन अन्तिम चरणमा पुगेका छन ।

प्रसारण लाईन निर्माणमा भने जग्गा बिबाद र स्थानियको अबरोधका कारण समयमा काम सम्पन्न कठिन भैरहेको नयाँमोदी पोखरा प्रसारणलाईन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । पर्वतमा कम बिबाद भएपनि कास्कीमा प्रसारणलाईन बनाउन कठिन भएकाले प्रोजेक्ट नै असफल हुने अबस्था आउन सक्ने चिन्ता आयोजना प्रमुख अग्रवालको छ ।

पर्वतको मोदी गाउँपालिका १ शेराबेसीमा बिद्यालयमा कुनै असर नै नपर्ने दाबी उहाँको छ । ‘अहिले डिजाइन भएको स्थान भन्दा माथिबाट लैजादा भीर र घर प पर्ने र तलबाट लैजाँदा मोटरेबल पुल र झोलुङ्ग पुलका कारण क्लियरिङ्ग एरिया पुग्दैन’ उहाँले भन्नुभयो ‘बिद्यालयलाई पनि असर नपर्ने र सबै हिसाबले डिजाईन भएकाले स्थानान्तरण गर्ने संभावना नै छैन ।’

प्राधिकरणका ग्रीड बिकास बिभागका प्रमुख कडैयितले बिकल्प नभएकाले यसबाट नै प्रसारण लाइन बनाउनु पर्ने अबस्था रहेको दोहो¥याउनुभयो । बैकल्पिक स्थान भन्दा अहिले डिजाईन भएको स्थान नै उपयुक्त भएको दाबी उहाँको पनि छ ।

बिद्युत चाहिने तर प्रसारण लाईन बनाउन नदिने आम प्रबृत्तिका कारण देशभरकै प्रसारण लाईन निर्माणमा समस्या भैरहेको अनुभव उहाँको छ ।

प्रसारण लाईन बनेपछि देउपुर स्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित बिद्युत जोडिनेछन भने कास्कीको लहाचोक सबस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित बिद्युत जोडिनेछन ।