हरियो तरकारीको माग हृवात्तै बढ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडांै ।

गत महिनाको तुलनामा पुस महिनामा हरियो तरकारीको माग १ सय ५० टनले बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। मंसिरमा ७ सय टन हरियो तरकारी आएको थियो। पुस महिना ८ सय ५० टनको हाराहारीमा आयात हुने अनुमान रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक बिनय श्रेष्ठले जानकारी दिनुभयो।

अहिले सिजन भए पनि काउली र बन्दा भने विगतको जति आउन नसकेको पनि उहाँले जानकारी दिनुभयो। विगतका वर्षमा राम्रो मूल्य नपाएका कारण पनि यी वस्तु पर्याप्त उत्पादन नभएको हुन सक्ने उहाँको तर्क थियो। तर, बजारमा भिन्डी, बोडी, मटरकोसा, आलुलगायतका तरकारीको माग बढेको उहाँले जानकारी दिनुभयो।

गत वर्ष यो सिजनमा दैनिक ४७ टन काउली आउने गरेको थियो। गत सिजनमा प्रतिकिलो ११ रुपियाँमा थोक मूल्यमा काउलीको कारोबार हुने गरेको थियो भने हाल १९ टनको हाराहारीमा आउने गरेको र प्रतिकिलो ३८ रुपियाँमा थोक कारोबार हुने गरेको छ।

त्यस्तै बन्दागोभी एक वर्ष पहिले दैनिक ४९ टन प्रतिकिलो ११ रुपियाँमा थोक कारोबार हुने गरेको थियो भने हाल ३४ टनको हाराहारीमा ३८ रुपियाँमा थोक कारोबार हुने गरेको छ। बजारमा सिजनअनुसारको माग बढ्ने हुँदा त्यस अनुरुप आउन नसक्दा बिगतका वर्षभन्दा यस वर्ष मूल्य बढेको पनि श्रेष्ठको दाबी छ।

यता कागती धनियाँ र प्याजको मूल्य भने बिगतमा भन्दा घटेको छ। बिगतको बर्षमा १ सय ३५ रुपियाँमा कारोबार भएको कागती यसपटक १ सय ५ रुपियाँमा थोक कारोबार हुँदै आएको छ। त्यस्तै हरियो धनियाँ गत वर्षमा १ सय ३० रुपियाँमा कारोबार हुने गरेको र हाल ५५ रुपियाँमा थोक कारोबार हँुदै आएको छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि बढेको मूल्य चिनियाँ प्याज आउन थालेपछि बिस्तारै कम हुँदै आएको छ। एक महिना अघि १८५ रुपियाँ थोकमा कारोबार हुने गरेको प्याज हाल १६२ रुपियाँ थोकमा कारोबार हुने गरेकोछ। भारतले प्याजमा रोक लगाउनुभन्दा पहिले दैनिकी ८० देखि ९० टनसम्म कारोबार हुने भए पनि हाल भने ४० देखि ४५ टनसम्म मात्रै कारोबार हुने गरेको छ।