तीन अभिनेताको सम्झनामा श्रद्धाञ्जलीसभा

0
Shares

चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता केशव भट्टराई तथा अभिनेताद्वय दीपक क्षत्री र आनन्द थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरिएको छ।

चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा अभिनेतात्रयको १३औं दिनको पुण्यतिथिमा चावहिलस्थित चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो।

श्रद्धाञ्जलीसभामा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अभिनेता भट्टराई सधैं हासीखुसी रहने सरल व्यक्तित्व भएको चर्चा गर्दै अभिनेताद्वय क्षत्री र थापा निकै मेहनती र राम्रो कलाकार रहेको बताए।

दर्जनौं फिल्मकर्मीको सहभागितामा सम्पन्न शोकसभामा अभिनेत्री तथा चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसालले यी तीन व्यक्तित्वको काजक्रिया खर्चका लागि कल्याणकारी कोषबाट सहयोग गरेको जनाउँदै उनीहरूको परिवारलाई समेत केही आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी गराइन्।

त्यसै गरी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बास्कोटा, चलचित्र नृत्य निर्देशक संघका अध्यक्ष राजु शाह, नेपाल चलचित्र प्रविधिक संघका अध्यक्ष पुष्कर लामा, कृष्ण मल्ल, राजकुमार राईलगायतले अभिनेतात्रयकको व्यक्तित्वबारे चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले बोर्डका पूर्वअध्यक्ष केशव भट्टराईलाई वास्तविक श्रद्धाञ्जली दिन उनले देखेको सपनालाई साकार गर्नुुपर्ने तथा तीनै कलाकारको परिवार नाजुक अवस्थामा रहेकाले उनीहरूको क्षमताअनुसारको रोजगारीका लागि पहल गर्नुपर्नेमा जोड दिए।

त्यस्तै फिल्मकर्मी तुलसी घिमिरेले तीन कलाकारको निधनमा दुःख व्यक्त गर्दै उनीहरूको योगदानको स्मरण गरे। ‘केशव मेरै फिल्मबाट यस क्षेत्रमा आउनुभएको थियो। आनन्द दाइसँग पनि एक फिल्ममा काम गरेको थिएँ। दीपकजीसँग काम गर्न पाइनँ, तर उहाँको कामका बारेमा सुनेको थिएँ।

उहाँहरूलाई गुमाउनु हाम्रा लागि ठूलो क्षति हो।’ –घिमिरेले भने। त्यस्तै, फिल्म निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले पनि आफूले सँगै काम शुरू गरेको सहयात्रीलाई गुमाउनुको पीडा पोख्दै फिल्म क्षेत्रले एक सशक्त योजनाको अभिभावक गुमाएको चर्चा गरे।