इदलिबबाट दुई हप्तामा दुई लाख विस्थापितः राष्ट्रसंघ   


न्यूयोर्क,  सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इदलिबमा रूसको सययोगमा सिरियाली सरकारले हवाई आक्रमण थालेपछि दुई हप्ताको अन्तरालमा सुरक्षाको कारण यहाँबाट विस्थापित हुने सर्वसाधारणको सङ्ख्या करिब दुई लाख ३५ हजार पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

“इदलिबको दक्षिणी क्षेत्र मारेत अल–नुमानमा डिसेम्बर १२ देखि २५सम्ममा सिरियाली सुरक्षा फौजले गरेका हवाइ आक्रमणबाट असुरक्षित बनेपछि उनीहरू भागेका र उक्त इलाका लगभग खाली बनेको छ,” अलजजीरा टेलिभिजनले राष्ट्रसंघीय मानवीय सहयोगका लागि सिरियामा कार्यरत संस्था (ओसीएचए) ले शुक्रबार जारी विज्ञप्तिलाई उद्धृत गरी समाचार प्रशारण गरेको छ । अल–नुमान र इदलिबका प्राय क्षेत्रमा वर्तमान् सिरियाली राष्ट्रपतिको शासनशैलीको विरोध गर्दै आएको विपक्षी समूहको प्रभाब क्षेत्र हो ।

अल–जजीराको समाचारमा भनिएको छ, “सिरियाबाट अमेरिकी सेना फिर्ता लाने तयारी भएपछि इदलिब लगायतका स्थानमा ठूलो सङ्ख्यामा सर्वसाधारणको हताहती र विस्थापित हुने क्रम रोकिएको थियो ।”

समाचारमा उल्लेख गरिएअनुसार सिरियाली सरकारलाई इदलिबका विपक्षीको प्रभाव क्षेत्रमा राष्ट्रपति बसर अल–असद सरकारको सेनालाई हवाई आक्रमणका लागि डिसेम्बरको मध्यपछि रूसको सहयोग प्राप्त भएको छ ।

राष्ट्रपति असद प्रशासनलाई इरान र रूसको सहयोग रहेको छ र सेनाले विपक्षीको प्रभाव क्षेत्रमा कारबाही गर्दा ठूलो धनजनको क्षति हुने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेपछि गत अगस्टमा युद्धविराम घोषणा गरिएको थियो ।

डिसेम्बर १९ मा दर्जनौँ नगर क्षेत्र र गाउँहरूमा भएका झडप तथा हवाई आक्रमणमा सयौँको सङ्ख्यामा स्थानीयले ज्यान गुमाएका र वस्ती नै खालीहुने गरी स्थानीय भागेर सुरक्षितस्थलतर्फ गएका राष्ट्रसंघले जनाएको छ । विस्थापितमध्ये अधिकांश छिमेकी राज्यमा शरणार्थीका रूपमा पुगेका छन् भने केही विदेशिएका छन् ।
रासस/एएनआई