नेपाली कागजकाे माग बढ्दै


न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीमा नेपाली कागज उद्योगबाट उत्पादित सामग्रीको माग नेपाली बजारमा बढ्दै जान थालेको छ। म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा नेपाली कागज उद्योगबाट उत्पादित सामग्रीको माग नेपाली बजारमा बढ्दै जान थालेको हो।

वनजंगलमा खेर गइरहेको अर्गेलीको लोत्ता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपाली कागज उद्योगको स्थापना गरीएको हो । सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाहरुको पहलमा दुई वर्ष अघिदेखि सञ्‍चालित यस उद्योगबाट निर्माण गरिएका सामग्रीको बेनी, पोखरा, काठमाडौं लगायतका शहरमा माग बढ्दै गएको हो।

उद्योगबाट नेपाली कागज, डायरी, रजिष्टर, सजावटका सामग्री लगाएतका चिजहरु निर्माण हुँदै आएका छन्। वि.स २०६६ मा अदिभारामा स्थापना भएको सोले हब्स प्रालि बन्द भएपछि त्यहाँबाट कागज उत्पादन हुन सकेको थिएन भने अर्गेलीको लोत्तासमेत खेर गइरहेको थियो। बन्द भएको उद्योगको संरचनालाई नयाँ तरिकाले व्‍यवस्थित गरेर अर्को उद्योग सञ्चालन गरिएको सञ्चालक मोतीराज गौतमले जानकारी दिए।

यसअघि आठ लाख रुपैयाँ लगानी भएको उद्योगमा चार लाख रुपैयाँ लगानी थप गरिएको छ। पुरानो बन्द भएपछि नयाँ आदिभारा नेपाली हाते कागज उद्योग स्थापना गरिएको सञ्चालक गौतमले बताए। तनहुँको शुक्ला गण्डकी हाते कागज उद्योगले यहाँको उत्पादन खरिद गर्ने सम्झौता भएको छ।

शुक्ला गण्डकी र नेपाल कोरीया प्रबिधि (नाइटेक)को सहयोगमा उद्योग परिसरमा पूर्वाधार थप गरिएको छ। ओखरबोट र रुमका ५ वटा सामुदायिक वन उपभोक्ता समूहसंग सहकार्य गरेर उद्योग सञ्चालन गरिएको हो। उद्योगमा दैनिक दुई हजार ताउ (बीस कोरी) कागज उत्पादन गर्ने क्षमत्ता छ। पाँच जनाले आंशिक रोजगारी पाएका छन्। वन समूहका सदस्यहरुले जंगलमा संकलन गरेको लोत्ता प्रतिकिलो १०० रुपैयाँका दरले खरिद गर्ने व्‍यवस्था मिलाइएको छ।