स्नातकोत्तर पढाई अब जाजरकोटमै


बासुदेव शर्मा, जाजरकोट ।

जिल्लाकै पुरानो क्याम्पस भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पढाई शुरु हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालबाट शैक्षिक योजना तथा व्यवस्थापन विषयमा भेरी ज्ञानोदय क्याम्पसले स्नातकोत्तर तहको कक्षा संचालनको अनुमति पाएको हो ।

त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त गरेको भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिमको आंगिक भएपछि स्नातकोत्तर तह पढाई सुरु हुने भएको छ । नेपाली र शैक्षिक योजना तथा व्यवस्थापन (ईपिएम) दुई विषमा कक्षा संचालनका लागी अनुमति मागेपनि ईपिएमको मात्र स्वीकृती भएको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले बताउनु भयो ।

जिल्लामा स्नातकोत्तर तहको पढाई नहुदाँ उच्च तह अध्ययनको लागी सुर्खेत, काठमाण्डौ लगाएतका शहरमा गएर पढ्नु पर्ने बाध्यता थियो । यसै वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा एमएड तहको अध्ययन गर्न पाउने भएपछि जिल्लाबासी खुशी भएका छन् । स्नातक तहसम्म पढाई हुने भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन विषयमा सेमेस्टर प्रणालीबाट पठनपाठन हुने गरेको छ ।

यसै शैक्षिक सत्रदेखी पठनपाठनको लागी क्याम्पसले स्नातकोत्तर विषयमा नयाँ भर्नाको कार्यतालिका सार्वजनिक गरेको छ । पुस १ देखि माघ ३ गतेसम्म आवेदन फाराम वितरण, माघ ४ गतेदेखि प्रबेश परिक्षा, माघ ७ देखी १४ गतेसम्म भर्ना र माघ १५ गते देखि पठनपाठन हुने क्याम्पस प्रमुख बुढाले बताउनु भयो ।

आर्थिक अभावले पढ्न नपाएका विद्यार्थीहरुलाई समयमै आवेदन फाराम भरेर मौकाको फाईदासगै आफनो अध्ययन अध्यपनलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । २०४३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएरको भेरी ज्ञानोदय क्याम्पन गत वर्षदेखी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएको हो ।